
सोमवार , जेठ २९, २०८०
भैरहवा, २९ जेठ ।
विकास निर्माणका काम दीर्घकालीन हुने गरी योजना बनाउन ओमसतिया गाउँपालिकाबासीहरुले गाउँपालिकालाई सुझाव दिएका छन् ।
‘ओमसतियाको शान, सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने नारासहित सोमबार गाउँपालिका परिसरमा आयोजना गरिएको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट निर्माणसम्बन्धी सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल कार्यक्रममा आ–आफ्ना भनाइ राख्दै पालिकाका विभिन्न वडावासीहरुले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गनुपर्ने सुझाव दिएका छन् ।
कृषि ज्ञान केन्द्र रुपन्देहीको अनुरोध जिल्लाभरी रासायनिक मलको विक्रीवितरण गर्ने सम्पूर्ण विक्रेताहरुलाई सो संस्थाहरुमार्फत गर्नहुन अनुरोध छ । पालिकामा रहेको सार्वजनिक जमिनको संरक्षण गर्नुपर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनुपर्ने, पालिकाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योगहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेलगायतका सुझाव आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।
बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा विद्यालयको भौतिक पुर्वाधारसँगै अनलाईन शिक्षाका लागि स्मार्टकोट खरीद गर्नुपर्ने, सामान खरीद गर्दा प्रधानाध्यापकलाई सहभागी बनाउनुपर्ने, शिक्षकको पोशाकदेखि मोबाईलसम्मका सुविधा पालिकाले उपलब्ध गराउनुपर्ने शिक्षकहरुले माग गरेका छन् ।
त्यस्तै पालिकाले दिदै आएको उपचार खर्चको सट्टा गाउँमै २५ शैयाको अस्पताल निर्माण गरी सबै गाउँपालिकाबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि स्थानीयले सुझाव दिएका छन् । खुल्ला सीमा नाका नजिक रहेको पालिकामा लागूऔषध दुव्र्यसनीमा परेका युवायुवतीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सुधार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्न उनीहरुको सुझाव छ ।
बजेटमा महिला, वालवालिका, अपांगता भएका समूह, युवा, जेष्ठ नागरिक सबैलाई समेट्ने गरी बजेट ल्याउन गाउँबासीहरुले सुझाव दिएको पालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले जानकारी दिए । जनताको भावना समेटेर आगामी बजेट बनाउने उनले प्रतिवद्धता जनाए ।
महिला तथा बालबालिकालाई समेट्ने गरेर बजेट ल्याइने पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बताइन् । कार्यक्रममा पालिकाका विभिन्न संघ–संस्था, स्थानीय क्लब, समूहका प्रतिनिधिहरुको सहभागीता रहेको गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij