images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवाका स्थानीयको प्रश्न : उखरमाउलो गर्मीमा अनियमित विद्युत कटौती कहिलेसम्म ?

भैरहवाका स्थानीयको प्रश्न : उखरमाउलो गर्मीमा अनियमित विद्युत कटौती कहिलेसम्म ?

images
images
images
आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • भैरहवाका स्थानीयको प्रश्न : उखरमाउलो गर्मीमा अनियमित विद्युत कटौती कहिलेसम्म ?

    भैरहवा, ३ असार ।
    अत्यधिक गर्मीसँगै अनियमित विद्युत कटौतीबाट सास्ती खेप्दै आइरहेका भैरहवाका स्थानीयबासीले नेपाल विद्युत प्राधिकरणप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरु गर्मीको समयमा पटकपटक विद्युत कटौती हुँदा नागरिक अत्यन्तै मारमा परेको गुनासो गरेका छन् ।

    images

    आइतबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुगेको बैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरको टोलीसहित स्थानीयले अनियमित कटौतीका कारण घरमै बस्नै नसकिने अवस्था रहेको बताए । नेपाललाई लोडसेडिङमुक्त घोषणा गरिए पनि पटकपटक विद्युत कटौती किन हुन्छ भन्दै उनीहरुले प्राधिकरणलाई प्रश्न गरेका छन् । उखरमाउलो गर्मीमा जीवन कष्टकर भइरहेको भन्दै अनियमित विद्युत कटौती कहिलेसम्म भन्ने उनीहरुको प्रश्न छ ।

    भैरहवा मर्निङ वाक ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका साहित्यकार विजय गोविन्द श्रेष्ठले रातको समयमा विद्युत आपूर्ति नहुँदा गर्मीले बालबालिका रोइरहेको र सुत्न नसकेको बताए । उनले अनियमित विद्युत आपूर्तिका कारण विद्युतीय उपकरण बिग्रिएको बताए । उनले भने, ‘जनतालाई दुःख दिन पाइँदैन । लोडसेडिङमुक्त देश घोषणा गरिएको नेपालमा एक दिनमा ४० पटकसम्म लाइन काटिन्छ । कि त लोडसेडिङको तालिका दिनुपर्यो होइन भने नियमित विद्युत आपूर्ति हुनुपर्छ ।’

    व्यवसायी अरुण लामिछानेले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा विद्युतसम्बन्धी जानकारी लिन खोज्ने प्रयासका लागि पटकपटक फोन गर्दा फोन कहिल्यै नलागेको बताए । उनले भने, ‘विगत ३ वर्षदेखि मैले विद्युत कार्यालयको इमरजेन्सी नम्बरमा फोन गर्दै आएको छु, तर अहिलेसम्म कुरा गर्न पाएको छैन ।’

    स्थानीय मीना श्रेष्ठले दुःख जनतालाई मात्र दिइएको बताइन् । उनले महंगीबाट पीडित नागरिक अहिले अनियमित विद्युत कटौतीबाट पीडित भएको बताइन् । उनले भनिन्, ‘घरका विद्युतीय उपकरण बिग्रिएका छन्, महंगी बढेको छ । कसरी मर्मत गराउने ?

    भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष तथा व्यवसायी ओमकार गौचनले रहरले नभइ बाध्यताले विद्युत कार्यालयलाई ध्यानाकर्षण गराउन आएको बताए । उनले भने, ‘रहरले यहाँ आएको होइनौ, समस्या समाधान नभए अब चुप लागेर बस्दैनौ । ’

    बैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरकी अध्यक्ष विनिता श्रेष्ठले जनताले दुःख पाइरहेको बताइन् । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ की वडा सदस्य निलु श्रीस मगरले सरकारले बाहिर ननिस्कन भन्ने अनि विद्युत कटौती हुँदा घरमा कसरी बस्ने भन्दै प्रश्न गरिन् ।

    स्थानीय आकाश पौडेल, सन्त धवल, विष्णु माया शर्मा पौडेल, पूर्व वडा सदस्य रुपमाया पुनलगायतले बोल्दै विद्युत प्राधिकरण समस्या समाधानमा लाग्नुपर्ने बताइन् ।

    नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर संजय कुमार मिश्रले समस्या समाधानका लागि लागिपरेको आश्वासन दिए । उनले विद्युत कटौती भैरहवाको मात्र नभइ राष्ट्रव्यापी समस्या भएको बताए । उनले भने, ‘पानी परे समस्या स्वतः समाधान हुन्छ । ’

    भैरहवा वितरण केन्द्रका प्रमुख मिश्रले जवाफ दिइरहँदा स्थानीयले भने गर्मीको समयमा पीडित भएपछि आफूहरु ध्यानाकर्षण गराउन विद्युत कार्यालय आएको बताए । उनीहरुले पानी परेको बेला त्यति गर्मी नहुने भएकाले यस्तो जवाफको अर्थ नरहेको बताए ।

    IMG_9887.JPG

    यसअघि नियमित विद्युत आपूर्तिको माग गर्दै स्वतन्त्र नागरिक समाज सिद्धार्थनगर, रुपन्देही, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटीलगायतले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij