
मंगलवार , आषाढ १९, २०८०
भैरहवा, १९ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा साढे २६ किलोमिटर सडक निर्माण (कालोपत्रे) हुने भएको छ । शहरी विकास मन्त्रालयमार्फत एशियाली विकास बैंकको लगानीमा नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ प्रतिशत लगानीमा नगरमा साढे २६ किलोमिटर सडक निर्माण हुने भएको हो ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयको पहलमा नगरमा एशियाली विकास बैंक (एडीबी) को अर्बन रेजिलेन्स लिभ्लिीहुड इम्प्रुभमेन्ट (यु.आर.एल.आई) आयोजना अन्तर्गत सडक निर्माण (कालोपत्रे) हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । उनकाअनुसार १ अर्ब ३५ करोड रुपैयाँ बढीको लागत अनुमानमा भीमकाली पथ, गल्लामण्डीको सुगरमिल सडक, मायादेवी कोलोनी, अभयदुर्गा पथ, दुर्गाकलोनीलगायत २८ वटा बढी सडकखण्डमा निर्माण हुनेछ ।
यसअघि पनि सिद्धार्थनगरमा एडीबीको ‘आरयूडीपी’ र ‘आईयूडीपी’ आयोजना सञ्चालन भइ सम्पन्न भएको थियो । आरयूडीपी आयोजना सञ्चालनको क्रममा देशमै पूँजीगत खर्चको अवस्था निराशजनक भएको बेला समयमै कामसम्पन्न गरेकोले एडिबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कार समेत प्रदान गरेको थियो ।
आयोजना सञ्चालनका लागि दशै अघि नै बोलपत्र आह्वान हुने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । उनले यसपटक पनि सहज र समयअघि नै आयोजना सम्पन्न गर्ने गरी तयारीहरु भइरहेको बताए ।
एडीबीले रुपन्देहीको पाँचवटा सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा आयोजना सञ्चालन गर्न लागेको छ । पाँचवटै पालिका प्रमुख, आयोजना व्यवस्थापक, शहरी विकास मन्त्रालयअन्र्तगत आयोजना समन्वय कार्यालय र एडीबीबीच भएको अनलाइन छलफलमा एडिबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरी र आयोजना समन्वय कार्यालयको आयोजना निर्देशक रोशन श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा एडीबीको आयोजना प्रभावकारी, सहजै र समयमै सम्पन्न हुने भएकोले अन्य पालिकाभन्दा सबैभन्दा अघि सिद्धार्थनगर नगरपालिकामा आयोजना सञ्चालन हुने बताए ।
छलफलमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अन्य पालिका भन्दा सिद्धार्थनगरमा सबैभन्दा अघि आयोजना सञ्चालन गर्न लागिएकोमा खुशी व्यक्त गर्दै आयोजना सम्पन्नका लागि पालिकाबाट पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता जनाए । उनले नगरपालिकामा क्रमशः विकास भइरहेकोले केही समयमा कामको परिणाम देखिने बताए ।
निर्माण हुने सडकखण्ड दुवै तर्फ नाला, फुटपाथ, आवश्यकताअनुसार स्ट्रिट लाइट हुनेछ भने निर्माण हुने संरचना बालबालिका, अपांगमैत्री हुने सिद्धार्थनगर नगरपालिकाका आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए ।
नगरमा सडक संरचनासहितको निर्माणले नगरका हजारौं नगरवासी लाभान्वित विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बताइन् ।
सडकका साथै नगरपालिकाको कार्यालयले नगरबासी र पर्यटकलाई लक्षित गरी डण्डा नदीलाई पनि करिडोरको रुपमा विकास गर्नका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि विस्तृत गुरुयोजना तयार हुने क्रममा रहेको आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए ।
डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्नका लागि एडीबी पनि सकारात्मक रहेको छ । डण्डा नदीको कार्य विभिन्न चरणमा सम्पन्न हुने बताइएको छ । प्रथम चरणका लागि ७० करोड रुपैयाँ अनुमान गरी विनियोजन गरिएको छ । डण्डा नदी र जग्गाको संरक्षणका लागि तटबन्ध निर्माण गरिने, साइकल मार्ग, पैदलयात्रु हिड्डुल मार्ग, नदीमा बोटिंग, रेष्टुरेण्ट, ध्यान केन्द्र, बालबालिकाका लागि फनपार्क लगायत संरचना निर्माण हुने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij