
शनिवार , श्रावण १७, २०७७
भैरहवा, १७ साउन ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा ३१ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनउत्थानको आयोजनामा प्रत्येक ४/४ महिनामा रक्तदान कार्यक्रम हुँदै आएको कार्यक्रम संयोजक केश कुमारी लुइटेलले बताइन् ।
सहकारीको भैरहवास्थित पहुँच सेवा केन्द्रमा आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेको कोषाध्यक्ष सरु रानाले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले रक्तदान असाध्यै महत्वपूर्ण कार्य भएको बताए । उनले रगतको अभावले मानिसको ज्यान समेत जान सक्ने भएकोले ज्यान नजाओस् भन्नेतर्फ ख्याल राख्नुपर्ने बताए ।
जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौड्यालले सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि हुन आउने महिला रक्तदाताहरुको संख्या उल्लेख्य रहेको बताइन् । उनले रक्तदान पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने भएकोले सहकारीले यसलाई निरन्तरता दिदैं जाने उल्लेख गरिन् । सहकारीका सचिव अञ्जु जैसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ मा १ सय युनिट वो सो भन्दा बढी रक्तदान गर्ने संस्थामध्ये जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोटिहवाले १३७ युनिट रक्तदान गरी उत्कृष्ट स्थान हासिल गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्रले सहकारीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । उक्त प्रशंसापत्र जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मा र रक्त सञ्चार सेवा केन्द्र भैरहवाका संयोजक हरि सापकोटाले जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौड्याललाई हस्तान्तरण गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij