
शनिवार , श्रावण १७, २०७७
नवलपरासी, १७ साउन ।
वर्षायामको निरन्तर वर्षा, क्षमता भन्दा बढी सामान बोकेर गुडेका मालबाहक सवारीसाधन र त्यसैमाथि लामो सयम मर्मतसम्भार नगरिएको सडकको बिजोग । सहजै अनुमान लगाउन सकिन्छ सडकको दुर्दशा । यतिबेला पूर्व पश्चिम अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने अधिकांश सडकको अवस्था लगभग उस्तै छ ।
सडकमा ठाउँठाउँमा परेका खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकमा परेका खाल्डाखुल्डीले सवारीचालकले यात्रामा सास्ती भोग्नुपर्ने बाध्यता छ । पाइलैपिच्छे रहेका खाल्डाखुल्डीले चालकलाई यात्रामा असहजता त भएकै छ त्यो सङ्गै कहाँ कतिबेला दुर्घटनामा परिने हो कि भनी यात्राभर त्राहिमाम बनेर हिड्नुपर्ने अवस्था छ ।
सडकको दुर्दशा देखेर पनि सरोकारवाला निकाय तथा सडक विभाग भने बेखबर बनेका छन् । सडकमर्मत सम्भारको मुख्य काम गर्ने निकाय सडक विभाग हो तर जिम्मेवारी निकाय नै उत्तरदायी र जिम्मेवार नहुँदा लाखौं यात्रुले समस्या झेल्नुपरेको छ ।
सरोकारवाला निकाय आफ्नो जिम्मेवारीबाट टाढा रहन खोजेपनि ट्राफिक नियम उल्लंघन गर्न नदिने मुख्य जिम्मेवार बोकेको ट्राफिक प्रहरी आफैले सडकका खाल्डाखुल्डी पुर्ने कामको सुरुवात गरेको छ । जिल्ला ट्राफिक प्रहरी पश्चिम नवलपरासी अन्तर्गतको ट्राफिक प्रहरी पोष्ट सुनवलले यस्तो कामको सुरुवात गरेको हो ।
सुनवल ट्राफिक अस्थायी पोस्टले शुक्रबार महेन्द्र राजमार्गमा पर्ने सुनवल नगरपालिका–७ ज्यामिरेस्थित मुख्य सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । मुख्य राजमार्गमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको भन्दै त्यसको न्यूनीकरणका लागी सडकको मर्मत गर्ने काम आफैहरुले नै भए पनि सुरु गरिएको ट्राफिक पोस्ट सुनवलका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर मल्लले बताए । सडक मर्मत सम्भारको मुख्य काम सडक बिभागको भए तापनि लामो समयदेखि सडकमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाउँदा ट्राफिक प्रहरीले सडकमा रहेको खाल्डाखुल्डी पुर्ने कार्य गरेको मल्ले बताए ।
त्यस्तै अस्थायी ट्राफिक पोस्ट सुनवलले समय समयमा विभिन्न ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु समेत सचालन गर्दैै आएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij