२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बेलहिया नाकामा यस्तो बन्दैछ स्वागतद्वार

बुधवार , श्रावण ३, २०८०

भैरहवा, ३ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नेपाल–भारत सीमा नाका बेलहियामा आर्कषित स्वागतद्वार निर्माण थालेको छ । हाल नाकामा रहेको मुलुकको स्वागतद्वार ६ लेन सडक विस्तारको क्रममा भत्किने भएपछि नगरपालिकाको कार्यालयले पशुपतिनाथ मन्दिरको आकार झल्किने गरी नाकामा स्वागतद्वार निर्माण थालेको हो ।

स्वागतद्वारको संरचना ‘एम.एस पाइप’ ले निर्माण कार्य भइरहेको छ भने फिनिसिङ्गका लागि ‘अल्ट्रा हाइ ग्लोस वाटर प्रुफ पिभिसी हेजागमन मेस’ लगायत प्रयोग गरिने सिद्धार्थनगर नगरपालिकाका इञ्जिनियर साकार श्रेष्ठले बताए ।

उक्त स्वागतद्वारमा डिजिटिल बोर्ड, लाइटिङ्गलगायतका प्रविधिहरु जडान हुनेछ भने स्वागतद्वारको दक्षिणतर्फ ‘वेलकम टु नेपाल’ लेखिनेछ । निर्माण भइरहेको स्वागतद्वारको भौतिक प्रगति २६ दशमलव १९ प्रतिशत रहेको छ ।

‘हाल रहेको स्वागतद्वार सडक विस्तारको क्रममा भत्किने भएपछि खुल्ला सीमाका कारण पर्यटकहरुलाई मुलुकको पहिचान गर्न पनि समस्या पर्न सक्ने देखियो’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘त्यसैले सीमामा मुलुकको संस्कृति पहिचानसहित स्वागतद्वार निर्माण थालेका हौं ।’ उनले थपे, ‘स्वागतद्वारले हाम्रो संस्कृति पनि झल्किने छ र मुलुकमा प्रवेश गर्ने पर्यटकहरुलाई नेपालमा प्रवेश गरिरहेको जानकारी पनि प्राप्त हुनेछ ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सीमामै स्वागतद्वार निर्माणले मुलुकमा प्रवेश गरिरहेको सर्वसाधारण तथा पर्यटकहरुलाई नेपाल–भारत सीमाको पहिचान र सहजता दुवै हुने बताइन् ।

Belahiya gate (2).jpg

‘पहिला सीमादेखि करिब २५ मिटर टाढा मुलुकको स्वागतद्वार (भत्काउन लागिएको) बनाइएको रहेछ’ उनले भनिन्, ‘तर, अहिले हामीले दशगजा नजिक नै मुलुकको स्वागतद्वार निर्माण गरिरहेका छौँ ।’ १ करोड ६४ लाख रुपैयाँमा निर्माण सुरु भएको उक्त स्वागतद्वार २०८० पुस मसान्तसम्म काम सम्पन्न गर्ने गरी कार्य भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।