२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

उद्घाटन भएको १५ महिनापछि सञ्चालनमा आयो सिद्धार्थनगर–६ वडा कार्यालय भवन

बुधवार , श्रावण १०, २०८०

भैरहवा, १० साउन । उद्घाटन भएको झण्डै १५ महिनापछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को कार्यालय सञ्चालनमा आएको छ । २०७८ चैत १५ गते वडा कार्यालय भवनको उद्घाटन भए पनि सञ्चालनमा आउन सकेको थिएन् । 

स्थानीय तहको निर्वाचन अघि नै उद्घाटन भए पनि कार्यालय भवन सञ्चालनमा नआएपछि वडावासीले सञ्चालनमा आउनुपर्ने माग गरेका थिए । उद्घाटन भएको केही महिनापछि सञ्चालनमा नआएपछि विभिन्न सञ्चार माध्यममा यसबारे समाचार प्रकाशन/प्रशारण भएको थियो ।

नेपाल कम्युनिष्ट (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले गत चैत २४ गते सिद्धार्थनगर नगरपालिकामा पुगेर नगर उपप्रमुख उमा अधिकारीलाई ध्यानाकर्षणपत्र नै बुझाएको थियो ।

एमाले सिद्धार्थनगर–६ का उपसचिव आनन्द प्रसाद न्यौपानेले ढिलै भए पनि आफ्नै वडा कार्यालयबाट वडाबासी तथा सेवाग्राहीले सेवा पाउने विषय राम्रो भएको बताए । उनले भने, ‘यसअघि वडाबासीलाई ५ नम्बर वडामा रहेको वडा कार्यालय भवनबाट सेवा लिनुपरेको थियो । अहिले आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले नयाँ वडा कार्यालय भवनबाट सेवा दिन सुरु गरिएको बताए । उनले भने, ‘नयाँ वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सेवा प्रवाह सुरु भइसकेको छ ।’