२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

पूर्व उपसभामुख भुसालको दावी : सिद्वान्त र नीति बिनाको पार्टीहरुको भविष्य छैन

आइतवार , श्रावण २८, २०८०

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २८ साउन ।

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले कांग्रेस भनेको लोकतन्त्रको पर्यायवाची भएको बताएकी छन् । उनले वर्तमान समयमा नयाँनयाँ पार्टीहरु जन्मिने क्रममा रहे पनि सिद्वान्त र नीति बिनाको पार्टीहरुको भविष्य नरहेको दावी गरिन् ।

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको ‘आन्तरिक विशेष अभियान’ कार्यक्रममा बोल्दै भुसालले कांग्रेस सिद्धान्त, नीति र इतिहास बोकेको, विभिन्न आन्दोलनहरुको नेतृत्व गरेको पार्टी भएकोले पार्टीका कार्यकर्ताहरु विचलित हुन जरुरी नरहेको बताइन् ।

    उनले भनिन्, ‘नेपाली कांग्रेसको यो १० दिने आन्तरिक विशेष अभियान ले अब पार्टीभित्र रहेको मतभिन्नता, असहमति, द्वन्द्व र संगठनभित्र रहेको कमजोरीहरुलाई निराकरण गर्दै निश्चित रुपमा तल्लो तहसम्म बलियो बनाउनेछ ।’

    उनले २०८४ सालको निर्वाचनका लागि तयार रहनुपर्नेमा जोड दिइन् । पार्टीले यसपटक बैठकलाई प्रत्यक्ष प्रशारण तथा सदस्यता वितरण प्रक्रियालाईसमेत अनलाइन प्रविधिमा लगेकोले अब समय सुहाउँदो पार्टीलाई डिजिटलाइजेसन प्रक्रियामा अघि बढेको कुरा भुसालको भनाइ छ ।

    मुलुकमा मिश्रित निर्वाचन प्रणाली भएकोले पनि अब महिलाहरु प्रत्येक तहमा नेतृत्व लिन तयार र सक्षम बन्नुपर्ने भुसालले जोड दिइन् ।

    कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, प्रदेश प्रतिनिधि त्रिलोक्य प्रताप सेन, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश प्रतिनिधि भिम बहादुर थापा (भरत), जिल्ला प्रतिनिधि तथा जिल्ला सचिव हरि प्रसाद काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, संविधानसभा सदस्य जैनुतिन निशा धुनिया, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य तथा नेपाल महिला संघका केन्द्रिय सदस्य रमा अर्याल, कांग्रेस प्रदेश ३ ख का सभापति घनश्याम चालिसे, कांग्रेस शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल, पार्टीका सिद्धार्थनगर पालिका वडा नम्बर ११ का सभापति केदार प्रसाद कुर्मीलगायतले पार्टीलाई अझ कसरी बलियो बनाउने र आगामी कार्यदिशाका बारेमा आफ्ना भनाइ राखेका थिए । 

    कांग्रेस प्रदेश ३ क का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।