२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जीर्ण बन्यो दाउन्ने खण्डको सडक, मर्मतमा सम्बन्धित निकाय मौन

शुक्रवार , माघ ९, २०७७

नवलपरासी, ९ माघ ।
झट्ट तस्विरमा हेर्दा लाग्न सक्छ यो कुनै पहाड छिचोलेर ग्रामीण बस्ती जोड्नको लागि बनाइएको कच्ची सडक हो । तर नझुक्किनुहोस,  यो त देशकै सबैभन्दा लामो पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गको मध्यभागमा पर्ने दाउन्ने क्षेत्रको मुख्य राजमार्ग हो ।

बर्खायामका कारण ठाउँ–ठाउँमा गएको पहिरोले भत्काएको सडक र खाल्डाखुल्डीको नियमित मर्मत सम्भार नहुँदा सडक जीर्ण र जोखिमपूर्ण बन्दै गएको हो । त्यसै त पहाडको घेचोमा बनेको सांघुरो सडक त्यसै माथि अधिकांश स्थानमा ठुला–ठुला खाल्डाखुल्डी परेका कारणले एकातिर सवारीसाधन दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर धुलाम्मे सडकका कारण यात्रु तथा स्थानीयले सास्ती मोल्नु परेको छ ।

यस अघि बुटवलदेखि पूर्वी नवलपरासी जिल्लाको गैंडाकोटसम्मको १ सय १३ किलोमिटरसडकको नियमित मर्मत सम्भारको काम सडक डिभिजन कार्यालय बुटवलले गर्ने गरेको थियो ।अहिले भने सो सडकखण्डमा सडक विस्तारको काम अगाडि बढिरहेको छ । कुल १६ अर्ब ९९ करोड रुपैयाँमा बुटवल–नारायणगढसम्मको १ सय १३ किलोमीटर सडक विस्तारको जिम्मा २ वर्ष अघि चाइना स्टेट कन्ट्रकशन कम्पनीले पाएको थियो । सडक विस्तारको जिम्मासंगै निर्माणसम्पन्न अवधिसम्मको लागि सो खण्डमा पर्ने सडक मर्मतको जिम्मेवारी पनि सोही कम्पनीकै रहेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले भने सडकको मर्मतसम्भारमा चासो देखाएको छैन भने, चाइना स्ट्रेट कन्ट्रकशन कम्पनी पनि पहिरोको कारणले जीर्ण बनेको सडक मर्मतको जिम्मेवारी आफ्नो नभएको भन्दै पन्छिन खोजेको छ ।

पश्चिम नवलपरासीको बर्दघाटदेखि पूर्वी नवलपरासीको दुम्किवाससम्म पर्ने साढे १८ किलोमीटरको दुरी पार गर्न सवारीसाधनलाई बढीमा ४० मिनेटको समय लाग्ने गरेकोमा अहिले भने सडक अवरोध नभएको समयमा पनि डेढ देखि २ घण्टा समय लाग्ने गरेको सवारीचालकहरु बताउँछन् ।

दैनिक ४ हजार भन्दा बढी साना ठुला सवारीसाधन गुड्ने यस राजमार्गमा दिउँसोको समयमा भन्दा रातको समयमा लामो दुरीका सवारी  र मालबाहक सवारीसाधनको चाप बढ्ने हुँदा यस सडकखण्ड रातको समयमा असुरक्षित छ नै त्यसमाथि लामो समयको जामका कारण यात्रुले अझ बढी कष्ट बेहोर्नु परेको छ । एकातिर खाल्डाखुल्डी र धुलाम्मेसहितको सांघुरो सडक र अर्कोतिर एउटा सवारीसाधन बिग्रने बित्तिकै घन्टौं जाममा बस्नुपर्ने बाध्यताले दैनिकजसो यात्रा कष्टकर बन्दै गएको सवारीचालक तथा यात्रुको गुनासो छ ।

नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी युवराज पाण्डेका अनुसार २०७५ साल पुस ४ गते  सडक विभाग र सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीबीच काम सुरु गर्ने मितिले ४२ महिनाभित्रमा निर्माण कार्यसम्पन्न गरिसक्नुपर्ने र सो अवधिमा सडक मर्मत सम्भारको जिम्मा पनि सोही कम्पनीकै हुने भनी सम्झौतामा उल्लेख छ । सडकको स्तरोन्नति गर्ने समयमा बाहेक अन्य समयमा सडक बिभागले जुन अवस्थामा सडक बुझाएको थियो, त्यही अवस्था भन्दा कमजोर अवस्था नहुने गरी सडक बुझाउनुपर्ने प्रावधानसहित सम्झौता भएको पाण्डेले बताए ।

चाइना स्टेट कन्ट्रकशन कम्पनीका इञ्जिनियर शान्तिराम दाहालले भने आफुहरुको सम्झौता पत्रमा निर्माण सम्पन्न अवधिभर सो सडकमा सवारी हिड्न योग्य बनाउनुपर्ने उल्लेख भएपनि भैपरी हुने प्राकृतिक प्रकोपका कारण बिग्रिएको सडक मर्मत गर्ने जिम्मेवारी भने नभएको बताए । ‘हामीले प्राकृतिक प्रकोपले बिग्रिएको सडक पिच नै गर्ने भन्ने कुरा सम्झौतामा उल्लेख छैन’ उनले भने ‘गत साल मात्रै सडक विभागले बिग्रिएको ठाउँमा मर्मत गर्नु हामी रकम उपलब्ध गराउँछौ भनी झण्डै २ करोड रुपैयाँ बराबरको लागतमा बुटवलदेखि नारायणगढसम्पको बिग्रिएको सडक पिच गरेका थियौं तर सो रकम अहिलेसम्म पनि सडक विभागले उपलब्ध गराएको छैन ।’

सडक विभागले चाइना स्ट्रेट कन्ट्रकशन कम्पनीलाई सडक हस्तान्तरण गरिसकेको हुनाले सामान्य मर्मत सम्भारको जिम्मेवारी बहन गदै गाडी हिड्न योग्य सडक बनाउने दायित्व आफुहरुको भए पनि भत्किएको सडक पुन स्तरोन्नति गर्ने भएकाले बिग्रिएको सडक पिच नै गर्न नसक्ने दाहालले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार गत साउन महिना यता दाउन्ने खण्डको सडकमा मात्रै २९ वटा साना ठुला सवारीसाधन दुर्घटना भएका छन् । जसबाट १ महिलाको ज्यानै गएको छ भने १६ पुरुष र १ महिला घाइते भएका छन् । सोही समय यता सो खण्डमा गएको पहिरो र सवारी दुर्घटनाबाट अहिलेसम्म ९ पटक भन्दा बढी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरीको भनाइ छ ।

सर्वत्र आलोचना बढ्दै गएपछि यतिबेला चाइना स्टेट कन्ट्रकशन कम्पनीले दाउन्ने खण्डका सामान्य खाल्डाखुल्डी पुर्ने काम अघि बढाए पनि भत्किएको बाटो पिच गर्ने र भए पनि हुने प्राकृतिक प्रकोपले सडक अवरुद्धको विकल्पबारे भने दुवै निकाय मौन छन् ।

daunne photo.JPGसडक विस्तारको लागि दाउन्ने क्षेत्रको सडक डिजाइनको काम अझै फाइनल नहुनुले न सडक छिट्टै विस्तार होला र यात्रा सहज होला भनेर आशा गर्न सकिन्छ, न जीर्ण सडकको मर्मत सडक विभाग वा चाइना स्टेट कन्ट्रक्शन कम्पनीले छिट्टै गर्लान् भन्ने कुरामा ढुक्क हुन सकिन्छ  । एकले अर्काको मुख ताकेर बसेका यी सम्बधित दुवै निकाय आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दै सडक मर्मतमा चासो देखाएनन भने आउँदो बर्खायामको समयमा देशकै प्रमुख राजमार्गमा आवातजावतमा निकै कठिनाइ मोल्नुपर्ने निश्चित प्राय L छ । त्यसैले आगामी दिनमा हुन सक्ने सडक अवरोध तथा सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै यस सडकको मर्मतमा सम्बन्धित निकायले बेलैमा चासो देखाउन जरुरी छ ।