२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नवजात शिशुलाई बेपत्ता पारेको आराेपमा डाक्टरसहित ६ जना पक्राउ

बुधवार , भाद्र ६, २०८०

मोरङ, ६ भदाै । विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका-९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका-१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् । 

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो । साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । 

उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।