२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

बालिका बलात्कारमा संलग्नलाई हदैसम्मको कारवाही गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता

शनिवार , माघ १०, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • बुटवल, १० माघ ।
    रुपन्देहीको तिलोत्तमा भएको बालिका बलात्कारमा संलग्नलाई हदैसम्मको कानूनी कारवाही गर्न कुनै किसिमको कसर बाँकी नराख्ने स्थानीय प्रहरी प्रशासनले प्रतिवद्धता व्यक्त गरेको छ । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको वुमन केयर नेपालद्धारा घटनास्थल तिलोत्तमा नगरपालिका वडा नम्बर १३ वभनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्न प्रहरी प्रशासनको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
     
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले घटनामा संलग्नलाई बढी भन्दा बढी सजाय दिलाउन प्रशासनको तर्फबाट कुनै कसर बाँकी नराख्ने भन्दै आगामी दिनमा त्यस्ता घटना घट्न नदिनेतर्फ स्थानीय सचेत हुनुपर्नेमा जोड दिए ।
     
    रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले घटनामा संलग्न अभियुक्तले अपराध स्वीकार गरेकोले निजलाई हदैसम्मको सजाय हुने जानकारी गराउँदै सोही अनुसार प्रहरीले मुद्दा अगाडी बढाएको बताए । घटनापश्चात सो क्षेत्रमा प्रहरीको गस्ती बढाइएको बताउँदै प्रहरी उपरीक्षक पोखरेलले शंकाष्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।
     
    कार्यक्रममा तिलोत्तमास्थित नेपाल अविनास अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले पीडित बालिकालाई १२ कक्षासम्मको पठनपाठनको जिम्मा आफुले लिने बताए ।
     
    स्थानीय शिक्षिका सरस्वती आचार्यले घटनापश्चात बालबालिकाहरु विद्यालय आउन डराएको भन्दै स्थानीय जनतामा सूरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिइन् । सो अवसरमा पीडित बालिकाका आफन्त तथा छिमेकीहरुले  िवालिकाको शिक्षा-दिक्षा र रोजगारीको व्यवस्था गर्न माग गरेका थिए ।

    वुमन केयर नेपालकी अध्यक्ष रीता केसीले घटनापछि समाजमा डर त्रासको वातावरण उत्पन्न भएको र बालबालिकाहरु विद्यालय आउन डराइरहेको भन्ने थाहा पाएर प्रहरी प्रशासन र संघ–संस्थाहरु पीडित परिवार तथा स्थानीयवासीको साथमा छन् भन्ने प्रत्याभूति दिलाउन अन्तरक्रिया कार्यक्रमको आयोजना  गरिएको जानकारी दिइन् । पीडित परिवारलाई आवश्यक सहयोग गर्न वुमन केयर नेपाल तयार रहेको भन्दै आगामी दिनमा त्यस किसिमका घट्न नदिन जनचेतनामूलक कार्यक्रम पनि गरिने उनले बताइन् ।