
मंगलवार , भाद्र १२, २०८०
भैरहवा, १२ भदौ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट सरुवा भएका तथा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्वागत तथा विदाई (फेरी भेटौंला) कार्यक्रम गरिएको छ । विगत १३ महिनादेखि कोटहीमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राजन श्रीवास्तवको विदाई तथा गाउँपालिकामा नवआगन्तुक प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ आएका गोविन्द भट्टराईलाई सोमबार स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सरुवा भई जानुभएका प्रमुख प्रशासकीय राजन श्रीवास्तवले सबैलाई चित्तबुझदो काम गर्नुभएको उनले बताए । कर्मचारीकै सहयोगले गत आर्थिक वर्षमा कार्यसम्पादनमा कोटहीमाई गाउँपलिकामा जिल्लाको द्वितीय स्थान हासिल गर्न सफल भएको उनले बताए । कर्मचारी र जनप्रतिनिधिको समन्वयले बिना विवाद सहज रुपले कार्यहरु सम्पन्न भएको उनले बताए ।
अध्यक्ष त्रिपाठीले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले गरेका विभिन्न उदाहरणीय तथा व्यवस्थित कार्यहरुबाट छिमेकी पालिकाहरुले पनि सिकेको बताए । सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई स्थानीय तहबारे धेरै अनुभव रहेकोले काम गर्न थप सजिलो हुने अध्यक्ष त्रिपाठीले विश्वास व्यक्त गरे । जनताको हितमा काम गर्नलाई आएको र समाजले दिएको जिम्मेवारी पूरा गर्न कर्मचारी तथा जनप्रतिनिधिहरु एकरथका दुई पांग्रा रहेको भन्दै विकासको लक्ष्य प्राप्त गर्न दुवै पांग्रा सँगसँगै अघि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति ललितपुरबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले अहिलेसम्म भएको कामहरुमा हुने गरेको त्रुटीहरुलाई सच्याएर थप व्यवस्थित तरिकाले काम गर्ने बताए । यस अघि सेवा दिएका राजन श्रीवास्तवज्यूलाई सहयोग गरेका हरेक पक्षबाट आफूले पनि सहयोगको अपेक्षा राखेको उनले बताए । आफ्नो व्यक्तिगत भन्दा ऐन नियमलाई टेकेर काम गर्न मानसिकता बनाउनुपर्ने बताए ।
सरुवा भइ जिल्ला प्रशासन कार्यालय रुपन्देही गएका श्रीवास्तवले आफूलाई हरेक निकायबाट सहयोग भइ काम गर्न सहज वातावरण भएको बताए । उनले भने, ‘कार्यालयको समय अवधिभर पूर्ण रुपले जिम्मेवार भई काम गरेको छु । बिहान १० बजेदेखि साँझ ५ बजे सम्म कार्यालयलाई समेय दिएको छु । तपाईहरुले पनि राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न इमान्दारीका साथ काम गर्न गर्नुहोला ।’ आफूले यस जिल्लाभित्र रहेकोले यस क्षेत्रबासी र गाउँपालिकासँग आवश्यक समन्वय र सहकार्य गरिरहने उनले बताए ।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अजय सिंह क्षेत्रीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij