
बुधवार , भाद्र १३, २०८०
भैरहवा, १३ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका सरकारी कार्यालयहरुसगँ समन्वयकारी भुमिका निर्वाह गर्न थालेको छ । नगरमा रहेका सरकारी कार्यालयहरुमा नगरबासीलाई सेवा प्राप्तीमा सहजता गराउने उद्देश्यले पालिकाले नगरमा रहेका विभिन्न सरकारी कार्यालयहरुसगँ समन्वयकारी भूमिका निर्वाह गर्न थालेको हो ।
नगरका अधिकांश सरकारी कार्यालयहरुमा नियमअनुसार सेवा प्राप्तीका लागि पनि विभिन्न समस्या खेप्नुपरेको सर्वसाधरणहरुको गुनासो छ । जसको सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी नहुने पनि गर्दछ ।
सोहीअनुसार पालिकाले प्रथम चरणमा नगरवासीहरुले बढी सेवा लिने नेपाल विद्युत प्राधिकरण, भैरहवा वितरण केन्द्र, मालपोत, नापी र नेपाल टेलिकमको कार्यालय प्रमुखहरुसगँ छलफल गरेको छ ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा नगरप्रमुख इश्तियाक अहमद खानको अध्यक्षतामा वडाअध्यक्षहरु सहितको बसेको बैठकले विधुत, मालपोत, नापी र नेपाल टेलिकम कार्यालयसँग नगरमा देखिएका समस्या समाधान र नगरबासीले पाउने सेवाको विषयमा छलफल गरी देखिएका समस्या समाधान र नगरबासीहरुलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
नगरमा विद्युतका पोलहरु अव्यस्थित तारहरु व्यवस्थित गर्न, आवश्यक स्थानमा विधुतिय पोल–तार जडान, ट्रान्सफर्मर जडान, जग्गाको सम्बन्धी कार्य लगायत सेवा प्राप्तीमा सहजता गराउने निर्णय भएको उनले बताए ।
‘सिद्धार्थनगरमा देखिएका समस्या र नगरवासीहरुले उक्त कार्यालयहरुमा सेवा लिन जादाँ नियमअनुसार सहज रुपमा सेवा पाउन भन्ने उद्देश्यले बैठक बसेका थियौं’ नगरप्रमुख खानले भने, ‘सम्बन्धित वडा कार्यालयको सिफारिस लिएको अवस्थामा उक्त कार्यालयहरुले सेवा प्रदानमा विशेष सम्बोधन गर्नेमा हामी आशावादी छौं ।’
मालपोत, नापी, विद्युत र नेपाली टेलिकम कार्यालयहरुमा नियमअनुसार सेवा प्राप्तीमा कुनै पनि समस्या भएमा नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयहरुमा नगरवासीले सम्पर्क गर्न सकिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij