२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्थानीय पालिकाहरुका साझा समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड 

सोमवार , भाद्र २५, २०८०

भैरहवा, २५ भदौ । 
स्थानीय पालिकाहरुले भोग्नुपरेका साझा समस्यालाई साझा ढंगले सम्बोधन गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड  दिएका छन् । जिल्ला समन्वय समिति, रुपन्देही (जिसस) को पाँचौ जिल्ला सभामा बोल्ने वक्ताहरुले पालिकाहरुका साझा समस्यालाई साझा रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । रुपन्देहीमा देखिएका ई–रिक्सा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, विपद् व्यवस्थापन, फोहरमैला व्यवसपन, सीमाकन र रेखांकनलाई साझा समस्याको रुपमा उठान गरी जिल्ला समन्वय समितिले समाधानको लागि पहल गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

सोमबार सियारीमा भएको जिससको पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जनताले महसुस गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक दल र नेताको व्यवहारका कारण जनतामा आक्रोश बढ्दै गएको उल्लेख गर्दै जनताको कामलाई सहल ढंगले सम्बोधन गर्न सम्बन्धीत सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्ला समन्वय समितिले पालिकाहरुका साझा समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले १ वर्षको अवधिमा गरेका कामहरुको प्रस्तुतीकरण गर्दै जिससको भूमिकालाई थप समन्वयकारी बनाउने बताए । उनले जिससले १६ वटा स्थानीय पालिकाहरुको सहभागीतामा घुम्ती बैठकको आयोजना गरी जिल्लाका साझा समस्यालाई सम्बोधन गर्दै आएको बताए । 

जिससले हालसम्म सातवटा घुम्ती बैठक सम्पन्न गरेको छ । बैठकमा विभिन्न बिष्मयमा छलफल गर्ने र समाधान खोज्ने गरेको जिल्ला समन्वय अधिकारी कमल ज्ञवालीले जानकारी दिए । ज्ञवालीले आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्तावित ३६ लाख १० हजार ५ सय ४३ रुपैयाँको बजेट विनियोजन गरेको बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका शाखा अधिकृत तुल्सीराम भण्डारीको सञ्चालन तथा उपप्रमुख रामकृपाल धोबीको स्वागतमा सम्पन्न कार्यक्रममा बोल्ने सभाका सदस्यहरुले नदीजन्य पदार्थको उत्खनन्, पर्यटन प्रवद्र्धन लगायतका मुद्दामा साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए । 

 

IMG_9918.JPG
IMG_9914.JPG
IMG_9919.JPG
IMG_9925.JPG