सोमवार , भाद्र २५, २०८०
भैरहवा, २५ भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य मातृका प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । सोमबार जसपा परित्याग गरी उनी राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको नबीन राप्रपा कार्ययोजना अन्तरक्रिया तथा बृहत पार्टी प्रवेश कार्यक्रममा यादवलाई पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सदस्य स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गरेपछि बोल्दै नेता यादवले आफूले ३० वर्ष नेपाली कांग्रेसमा बिताएको बताए । उनले भने, ‘म कांग्रेस परित्याग गरी जसपामा प्रवेश गरे । तर, विभिन्न कारणले जसपा परित्याग गरेको छु ।’
राप्रपाको भ्रष्टाचारविरुद्धको अभियान र नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने एजेण्डा राम्रो रहेको उनले बताए । राप्रपामा इमान्दारीपूर्वक काम गरेर आफ्नो राजनीतिक जीवन बिताउने नेता यादवले बताए ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यादव जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार बनेका थिए । त्यस्तै २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट सिद्धार्थनगरको मेयर पदको उम्मेदवार बनेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
