२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सियारीमा संविधान तथा शिक्षा दिवसको अवसरमा विभिन्न व्यक्ति तथा उद्योगलाई सम्मान

बुधवार , आश्विन ३, २०८०

भैरहवा, ३ असोज । 
रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । नवौं संविधान दिवस तथा चौथो सियारी शिक्षा दिवसको अवसरमा सियारीमा रहेर शिक्षा, उद्यम, राजनैतिक तथा सामाजिक, गाउँपालिकाको विकास साझेदारमा उत्कृष्ट काम गरेका व्यक्ति तथा उद्योगलाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।

सियारी गाउँपालिकामा उत्कृष्ट कार्य गरेवापत आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद पौडेल, नायब सुब्बा चिरञ्जीवी गौतम, सामाजिक परिचालक हेम प्रसाद सापकोटा, वडा सचिव दिवाकर त्रिपाठी, कार्यालय सहयोगी पुष्कर पोख्रेल र तुल्सी प्रसाद पाण्डेलाई सम्मान गरिएको छ ।

3256e9fc-54cc-4226-b49c-5ff0fd471a6b.jpg

सियारी गाउँपालिकाले सियारीको विकास र उन्नयनका लागि राजनैतिक एवं सामाजिक क्षेत्रतर्फ ७ जना, शिक्षा तथा राजनैतिक क्षेत्र (मरणोपरान्त) तर्फ २ जना, उद्यम विकासतर्फ १ जना र विकास साझेदार उद्योगतर्फ अर्घाखाँची सिमेन्ट उद्योगलाई कदरपत्रसहित सम्मान गरिएको छ । 
त्यसै गरी आर्थिक विकासतर्फ २ जना, शिक्षा क्षेत्रतर्फ ११ जना, विद्यालयतर्फ ३ र पूर्व प्रअ एवं शिक्षकतर्फ १६ जनालाई सम्मानित गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।

IMG_0120.JPG

त्यसै गरी सियारी गाउँपालिकाभित्र सञ्चालित विद्यालयबाट अवकाशप्राप्त १७ जना शिक्षक–शिक्षिकालाई पनि सम्मान गरिएको थियो । उनीहरु सबैलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी लगायतले सम्मान गरेका थिए ।

8cf3af1c-561e-4358-9ed0-8823a4f6d34e.jpg

चौथो सियारी शिक्षा दिवस २०८० को अवसरमा सियारी (तत्कालिन छपिया) को शिक्षामा जग बसाउने २ जना शिक्षाप्रेमी व्यक्तिलाई मरणोपरान्त सम्मान गरिएको छ ।

सम्मानित हुनेमा सियारी गाउँपालिकाको जेष्ठ विद्यालय छपिया आधारभूत विद्यालयका पूर्व प्रधानपञ्च स्वर्गीय आनन्द सिंह मगर, पब्लिक माध्यमिक विद्यालयका पूर्वअध्यक्ष तथा समाजसेवी स्वर्गी बुद्धिनाथ तिवारीलाई मरणोपरान्त सम्मान गरिएको छ ।

त्यसै गरी गाउँपालिकास्तरीय आधारभूत तह परीक्षा, माध्यमिक तह परीक्षा, माध्यमिक शिक्षा उत्तीर्ण १७ जना उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्वअध्यक्ष, पूर्व प्रअ, संस्थागत विद्यालय र सामूदायिक विद्यालयमध्ये उत्कृष्ट कार्य गर्ने विद्यालयलाई सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी रोमलाल पुरीले जानकारी दिए ।