२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देहीका पालिकाहरुको वार्षिक प्रगति समिक्षा

आइतवार , आश्विन ७, २०८०

भैरहवा, ७ असोज । रुपन्देहीका स्थानीय पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेका कामको समिक्षा गरिएको छ ।

जिल्ला समन्वय समिति, रुपन्देहीको आयोजनामा जिल्लाका १६ वटा पालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादन गरेका कामको समिक्षा गरिएको हो । 

समिक्षा कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आफ्नो पालिकामा एक वर्षमा भएका भौतिक पूर्वाधार, विकास निर्माण, खर्चको अवस्था, बेरुजु, पालिकामा काम गर्दा भोग्नु परेका अप्ठ्याराका विषयलाई प्रस्तुतीकरण गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा भएको कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै उनीहरुले संघ सरकार, प्रदेश सरकार र जिल्ला समन्वय समितिले पालिकामा परेका समस्या सम्बोधनका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले वर्ष दिनसम्म गरेका कामको प्रस्तुती गरेका थिए ।

IMG_0371.JPG
सियारी गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गर्दै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी

रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेका पालिकाहरुमा काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृतहरुले पालिकामा सहज तरिकाले काम गर्न असहज रहेको बताएका छन् । उनीहरुले आफ्नो प्रस्तुती राख्दै पालिकाका जनप्रतिनिधिहरुको असहयोगका कारण कानूनसम्मत रुपमा काम गर्न अप्ठ्यारो परेको गुनासो गरेका छन् । ती पालिकाहरुमा अन्य पालिकाको तुलनामा बेरुजुको अवस्था पनि डरलाग्दो रुपमा रहेको प्रस्तुत गरेका छन् । दक्षिणी क्षेत्रको तुलनामा अन्य पालिकाहरुले भने सन्तोष जनक रुपमा काम गरेको बताएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने बताएका छन् । उनले प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वय र सहकार्य बढाएको पालिकाका माध्ययमबाट स्थानीय नागरिकको विकासमा जुट्नुपर्नेमा जोड दिए ।

uma chapagai.jpg

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंको अध्यक्षता तथा समन्वय अधिकारी कमल ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय पालिकाले संविधानसम्मत काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको कामलाई जतिसक्दो चाँडो पुरा गरी नागरिकमैत्री स्थानीय सरकार बनाउनुपर्ने बताए  ।