२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

एमाले सुदूरपश्चिम प्रदेश : कृष्णप्रसाद जैशीको नेतृत्वमा सर्वसम्मत कमिटी चयन

बुधवार , आश्विन २४, २०८०

धनगढी, २४ असोज । 
नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ । एमालेका स्थायी कमिटी सदस्य, केन्द्रिय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज छविलाल विश्वकर्मा, केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा मंगलबार रातीसम्म भएको छलफल पछि कृष्ण प्रसाद जैशीको नेतृत्वमा सवै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । 

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार सहमतिमै नेतृत्व चयन हुँदा पार्टी पंक्तिमा मतभेद नरहने र आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउन सहयोग पुग्नेछ ।  ‘सर्वसम्मत नेतृत्व चयनले देशभर राम्रो सन्देश जाने छ,’ थापाले भने, ‘कार्यकर्तामा मनमुटाव पनि हुँदैन, त्यसैले हाम्रो जोडबल सहमतिमै नेतृत्व चयन हुनु पर्छ भन्नेमा हो ।’
एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसारउपाध्यक्षमा बाजुराका काली बहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उप सचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उपसचिवमा कलशा महरासर्वसम्मत चयन भएका छन् । दुवै जनाले मंगलबार बिहान भने उम्मेदवारी दिएका थिएनन् । 

एमालेले प्रदेश कमिटी सदस्यहरु पनि सर्वसम्मत चयन गरेको जनाइएको छ । सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्षसहित सवै पदाधिकारीमा उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीससहित वचन बहादुर सिंह, कमल तिमिल्सेना र भरत साउँदले उम्मेदवारी दिएका थिए ।

त्यसै गरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो । एमाले प्रदेश कमिटिको उपाध्यक्षका लागि  हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद तथा गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए ।
यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो उम्मेदवारी दिनेमा रणबहादुर चन्द, राजेश कुमार खाति, रतन रतनराज रेग्मी र जीवन कुमार बम रहेका थिए ।

यस्तै उपसचिवमा ९ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमा महिलातर्फ भागरथी विष्ट, कन्दकला कुमारी राना र अर्चना गहतराज रहेका थिए भने, उपसचिव खुल्ला (पुरुष) तर्फ रामदत्त जोशी, अशोक कुमार चन्द, नरबहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका थिए । 

आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए । तर, सहमति जुट्ने अवस्था नदेखिएपछि स्वस्थ प्रतिष्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका थिए तर मंगलबार राती सहमति हुन पुग्यो ।

अध्यक्ष केपी शर्मा ओली पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौं फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्रलाई थाति राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए तर सफल नभएपछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर उनी दाङ फर्किएका हुन् ।