images
images

शनिवार, जेठ ५ गते २०८१

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

images
images
images
शुक्रवार, आश्विन २६ २०८०
शुक्रवार, आश्विन २६ २०८०
  • बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

    बुटवल, २६ असोज । 
    बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ । बुटवल उपमहानगरपालिका–१० स्थित रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो।

    images
    images
    images

    बुटवलका केही व्यवसायीले टेण्डर प्रक्रियामा सहभागी नभइ फरक धारणा व्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवाला बोलाएर छलफल गरेको हो ।

    छलफलमा सहभागी सरोकारवालाहरुले बधशालालाई छिटो सञ्चालन गरी स्वच्छ मासु उपभोग गर्न पाउने उपभोक्ताको अधिकार सुरक्षित गर्न माग गरेका छन् ।

    कार्यक्रममा सहभागीहरुले बुटवलमा बधशाला सञ्चालनमा कसैले पनि अवरोध गर्न नहुने र व्यवसायी समेत सहभागी हुनुपर्ने बताएका थिए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बधशाला कानुनी प्रक्रियाअनुसार सञ्चालनको चरणमा रहेकाले सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए । उनले बधशाला सञ्चालनका लागि कसैले अवरोध गर्ने र बुटवलबासीको स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए ।
    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बधशाला सञ्चालनका लागि मासु व्यवसायीले सहकार्य गरी उपभोक्ताको पक्षमा निर्णय लिन आग्रह गरे । उनले मासु व्यवसायीले व्यवसाय गर्ने भएकाले मनपरी रुपमा व्यवसाय सञ्चालनको पक्षमा उभिन नहुने बताए ।

    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरुले स्वच्छ मासु विक्री गर्नका लागि बधशाला सञ्चालनमा ल्याइएकाले कसैले पनि यसमा असहयोग र अवरोध गर्न नहुने बताइन् ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बधशाला सञ्चालनले बुटवलको गरिमा बढ्ने र यसले उपभोक्ताका साथै व्यवसायीलाई समेत लाभ हुने बताए ।  

    कार्यक्रममा मुक्तिनाथ लाइभस्टक लिमिटेडका प्रतिनिधि सन्तोष अधिकारीले बधशाला सञ्चालनमा मासु व्यवसायी र किसानहरुलाई सँगसँगै लिएर अगाडि बढ्ने बताए । मासु व्यवसायी विशाल थापाले बधशाला सञ्चालनमा मासु व्यवसायी र किसानलाइ बाहिर राख्न नहुने बताए ।   

    कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय भैरहवाका डा. भक्त निउरे, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीलगायतले बोल्दै बुटवलको पशु बधशाला सञ्चालनले यस क्षेत्रकै मासु व्यवसायमा स्तरवृद्धि हुने र यसले देशभरमै राम्रो सन्देश जाने बताए ।

    बुटवलको आधुनिक पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच भदौ ३१ गते सम्झौता भएको थियो ।

    सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमै बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल–१० स्थित रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो ।

    मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।  पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको छ ।

    सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारवाही गर्ने सम्झौतामा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु विक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै विक्री गर्न पाउनेछन् ।

    बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भइसकेको छ । ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, विक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बवक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

    झण्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैचा निर्माण भएको छ।

    यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालामा दैनिक १ हजार खसीबोका बध गर्न सक्ने क्षमता रहेको छ ।  

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij