
शुक्रवार , आश्विन २६, २०८०
काठमाडौं, २६ असोज ।
कोशीमा माओवादी केन्द्र नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले विद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नुपर्ने धारणा आउन सुरु भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले पुष्पकमल दाहाल नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै विकल्प खोज्नुपर्ने जनाएका छन् । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने जनाएका छन् ।
‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महंगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,’ प्रचण्ड सरकारको ध्यान केन्द्रित भएको उनको आरोप छ ।
‘देशको आर्थिक स्थिर अवस्थामा छ, यसलाई गतिशील बनाउनुपर्ने छ, उत्पादनमा जोड दिनुपर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन, यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’ प्रतिनिधिसभा बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग पहिलोपटक उठेको हो । (न्युज कारखाना)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij