२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

युसीएमएसका आन्दोलनरत विद्यार्थीहरुले थाले रिले अनसन

सोमवार , आश्विन २९, २०८०

भैरहवा, २९ असोज ।
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा विगत एक सातादेखि आन्दोलनरत विद्यार्थीहरुले सोमबारदेखि रिले अनसन सुरु गरेका छन् । आन्दोलनका कारण सोमबार युसीएमएसमा पठनपाठन र उपचार सेवा पनि प्रभावित भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गरेको दावी गर्दै आवासीय चिकित्सकहरूले अस्पतालमा कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन्।

एमबीबीएस र बीडीएस अन्ययनरत तथा इन्टर्न डाक्टरहरू समेत विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् । विद्यार्थीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी समेत गरेका छन् ।

आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई भगाएर लगिएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा ४ घण्टा बढी समय भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि विद्यार्थीहरूले आन्दोलन थप चर्काउने र रिले अनसन बस्ने बताए ।

आवासीय चिकित्सकहरूले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचार नगर्ने घोषणा गरेका हुन् । विद्यार्थी र चिकित्सकको आन्दोलनले बिरामीहरू उपचार सेवाबाट वञ्चित भएका छन् ।

393287024_1550073615527662_736251451055556940_n.jpg

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । 

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र एक वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । सुरूमा सामान्यजस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका थिए । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत् राख्नुपर्ने माग राखिरहेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि बैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताए । विद्यार्थीहरुले आरोप लगाए जस्तो प्रशासनले बल प्रयोग र हस्तक्षेप नगरेको प्रजिअ अर्यालले दावी गरे ।

युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले  विद्यार्थीका जायज माग पूरा गर्न कलेज प्रशासन सकारात्मक रहेको बताए ।