२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य : आचार्य बालकृष्ण

बिहिवार , कार्तिक ९, २०८०

रुपन्देही, ९ कार्तिक । 
पतञ्जली योगपीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् । पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए । 

‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक बिना पासपोर्ट नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्’– उनले भने–‘दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, साँस्कृतिक समानता र रोटीबेटीको सम्बन्धले पनि सहज छ ।’

नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र बाल्मिकीको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवद्र्धनमा पहल गर्न सुझाव दिए । 
उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए । ‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था छ, त्यहां पुग्न भन्दा बुटवल आउन धेरै नजिक छ’–उनले भने । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए । भारतको पतन्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उनको भनाइ छ । नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा  र अक्षुण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए ।

रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा १ अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा ५ सय जनाले रोजगारी पाउने उनले बताए । ४० वर्षपछि पहिलोपटक गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुशी लागेको आचार्य बालकृष्णले बताए ।  

सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारत उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लक्षित गरेर पाँचतारे होटेलसहित केबलकारमा ५ अर्ब लगानी हुने बताए । सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताए । केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको र करिब १ सय जनालाई रोजगारी दिएको उनले बताए ।   

आयुर्वेद शिरोमणि बालकृष्णसँगै उनका नेपाल र भारतका करिब २ सयजना अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गरेका थिए ।