२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

आन्दोलनरत कर्मचारीलाई युसीएमएसले भन्यो-कार्यस्थलमा फर्कनुस्

आइतवार , कार्तिक ९, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ९ कार्तिक । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीहरुलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । अस्पतालले नियमित कार्यमा समर्पित हुन आव्हान गरेको हो ।

    युसीएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले आइतबार विज्ञप्ती जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आजैबाट आकस्मिकसहित सघन उपचार, प्रसुति लगायत सबै सेवाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकुल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत बताउनुभएको हो ।

    साथै उठेका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिनहुन स्थानीय प्रशासन तथा सरोकारवाला सबैमा अस्पताल प्रशासनले अपील समेत गरेको छ । 
    ‘युसीएमएस भैरहवामा कार्यरत नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीहरुले प्रशासनसमक्ष ‘अकस्मात् रुपमा’ विभिन्न मागहरु राखी २०८२ कार्तिक २ गते कुनै सुनुवाई गर्ने समय नै नदिइ जारी आन्दोलनले यस अस्पतालका अत्यन्त संवेदनशील क्षेत्र आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइ.सी.यु., सी.सी.यु., एस.आइ.सी.यु. इत्यादि) समेत सहज रुपमा सञ्चालन हुन नसकेको विज्ञप्तीमा उल्लेख छ ।

    ‘यसअघि सम्मानित अदालतबाट अस्पताल सञ्चालन सम्बन्धमा भएका निर्णय तथा नजिर, नेपाल सरकारद्वारा मिति २०७८ मंसिर २७ गते राजपत्रमा प्रकाशित अस्पताल जस्तो ‘आवश्यक सेवामा हड्ताल गर्न निषेध’ गरिएको सूचना, अहिलेको विषयलाई सम्बोधन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कार्यदल गठन’ समेत गरिसकेको अवस्था र छाता संगठन नेपाल नर्सिङ्ग संघद्वारा ‘घोषित आन्दोलनका कार्यक्रम तालिका’ विपरीत हुने गरी अस्पतालका सेवाहरु पूर्णरुपमा प्रभावित हुँदा बिरामीहरुको उपचार तथा बाँच्ने पाउने अधिकार समेत कुण्ठित भएकोमा अस्पताल प्रशासनको गंभिर ध्यानाकर्षण भएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

    नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्धारण गरेको ‘न्यूनतम पारिश्रमिक’ समेत युसीएमएसले २०८२ साउन १ गतेदेखि लागू गरिसकेको अवस्था रहेको प्रमुख कार्यकारी अधिकृत पि.एस.ले बताउनुभयो । ‘समस्यालाई नजिकबाट विश्लेषण गर्दै अस्पताल प्रशासनले वार्ताको माध्यमबाट विभिन्न चरणहरुमा औपचारिक तथा अनौपचारिक संवाद समेत जारी राखेको तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा छलफल समेत भइसकेको र सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमार्फत छिट्टै समाधान आउने अस्पताल प्रशासनले आशा राखेको छ’ विज्ञप्तीमा उल्लेख छ ।

    आफूहरुको माग सम्बोधन नभए पेनडाउन गर्न बाध्य हुने युसीएमसएमका आन्दोलनरत नर्स तथा प्यारामेडिक्स कर्मचारीहरुले चेतावनी दिएका छन् ।