२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गठबन्धनबाट बाहिरिन ढिलाइ गरे कांग्रेसको भविष्य समाप्त हुन्छ : शंकर पोखरेल

शनिवार , कार्तिक ११, २०८०

दाङ, ११ कार्तिक । 
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनबाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नुपर्ने जनाएका हुन् । 

प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भइसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इसारामा चलिरहेकाले मुलुकको सर्वोपरी हितमा काम गर्न सक्ने अवस्थामा छैन । 

‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र वैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन’ उनले भने । 

सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाइ गरे गठबन्धनसँगै कांग्रेसको भविष्य समाप्त हुने उनको दावी छ ।

‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।