
शुक्रवार , कार्तिक १७, २०८०
भैरहवा, १७ कार्तिक ।
वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले छतिवन रुखले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नपार्ने बताएका छन् । छतिवनको बारेमा फैलाइएका भ्रमलाई हटाउने सन्दर्भमा शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा वनस्पति विज्ञ डा. केसीले छतिवनले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर पारेको प्रमाणित नरहेको बताए ।
नेपालमा रुख, विरुवा, फूल, वनस्पतिको सन्दर्भमा खोज, अनुसन्धान गर्ने र यस सम्बन्धमा कुनै विवाद आएमा त्यसलाई निरुपण गर्ने सरकारको आधिकारिक निकायको रुपमा वनस्पति विभाग रहेको छ । छतिवनले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भनी अफवाह फैलाइएपछि कतिपयले शहरी सौन्दर्यको लागि लगाइएको रुख काटेपछि तिलोत्तमा नगरपालिकाले शुक्रबार सरकारको आधिकारिक निकायका विज्ञलाई बोलाएर सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा महानिर्देशक केसीसहित सरकारीअधिकारीहरु प्रभात सापकोटा, देवीप्रसाद भण्डारी, सूर्यप्रसाद मैनाली, महेश्वर लम्सालको सहभागीता रहेको थियो ।
महानिर्देशक डा. केसीले छतिवन रुखको बारेमा फैलाइएको भ्रममा कुनै सत्यता नरहेको बताउँदै छतिवनकै कारण तिलोत्तमा नगरपालिकाले मुलुकभरमा ख्याति र प्रसिद्धि कमाएको बताए । उनले छतिवन नेपालको स्थानीय प्रजाति रहेको बताउँदै यो सडक किनारमा सहरी सौन्दर्य प्रवद्र्धनको लागि लगाउन उपर्युक्त विरुवा रहेको स्पष्ट पारे ।
भारतको पश्चिम बंगाल सरकारले यसलाई राज्यको प्रादेशिक रुखको रुपमा प्रवद्र्धन गरेको उल्लेख गर्दै उनले छतिवनमा पर्याप्त औषधिय गुण रहेको जानकारी गराए । उनले छतिवनले निःसन्तान गराउने भन्ने कुरामा कुनै पनि प्रकारको सत्यता बताउँदै उनले वनस्पति विभागले गत साउन २३ गते त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सहितका विज्ञ राखेर छतिवनको बारेमा अन्तरक्रिया गरिसकेको जानकारी दिए ।
छतिवनमा अधिक प्रदुषण सोस्न सक्ने क्षमता रहेको र यो प्रदुषणयुक्त वातावरणमा पनि सजिलै हुर्किने, जस्तोसुकै माटोमा पनि हुने बताउँदै उनले बाह्रैमासे हरियाली रहने, क्यानोपी ठूलो भएको, पात चौडा भएको र वास्नादार, सहज रुपमा उपलब्ध, कम हेरचाहको आवश्यकता पर्ने भएकोले सडक किनारमा लगाउन छतिवन उपर्युक्त रहेको बताए । छतिवनको बोक्रा र चोपमा औषधिय गुण भएकोले विभिन्न समुदाय तथा आयुर्वेदमा औषधीहरुमा यसको प्रयोग हुने गरेको उनले जानकारी दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले छतिवनको बारेमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेकोले यसको संरक्षण र प्रवद्र्धनमा लाग्न नगरबासीलाई आग्रह गरे । नगर उपप्रमुख जागेश्वरी चौधरीले छतिवनलगायतका कुनै पनि रुखमा क्षति पुर्याउने जोकोहीलाई अब कानूनी कारवाही गरिने स्पष्ट पारे ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले तिलोत्तमाको पहिचान बनेको हरियालीलाई बचाउने दायित्व सबैको रहेको बताए । कार्यपालिका सदस्य सुरेन्द्र श्रीले तिलोत्तमा हरियाली र सरसफाई तिलोत्तमाको ब्राण्डको रुपमा स्थापित भएको बताउँदै यसको प्रतिकूल हुने गरी कसैले पनि कुनै गतिविधि गर्न नहुनेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij