
आइतवार , कार्तिक १९, २०८०
भैरहवा, १९ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भुकम्पले प्रभावित पीडितहरुका लागि विभिन्न संघ–संस्थाको समन्वयमा राहत संकलन कार्य सुरु गरेको छ । संकलन गरिएको राहत (आवश्यक सामग्री) जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा प्रभावित जिल्लामा पठाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।
कार्यपालिकाको बैठकले सिद्धार्थनगरको कार्यालय, जनप्रतिनिधि र कर्मचारीको तर्फबाट गरी कुल २२ लाख ५४ हजार पाँच सय रुपैयाँ र २ सय थान कम्बल पठाउने निर्णय गरेको नगरप्रमुख खानले बताए ।
त्यस्तै पालिकाले विभिन्न संघ–संस्थाबाट पनि राहत सामग्री संकलन गरेको छ । नगरपालिकाको उपप्रमुख उमा अधिकारीका अनुसार नगरको रोट्रयाक्ट क्लबबाट ५ सय केजी, सिद्धार्थ उद्योग वाणिज्य रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले संयुक्त रुपमा २५ सय किलो, उद्योग व्यापार संगठन रुपन्देहीले ५ सय किलो चामल, नमुना एकीकृत विकास परिषद रुपन्देहीले ३० थान सिरक, सिद्धार्थ संजाल रुपन्देहीले चाचाउ र २० किलो फुरनदाना उपलब्ध गराएको छ ।
जिल्लाका विभिन्न पालिकाबाट संकलन गरिएको राहत जाजरकोटका लागि सोमबार साँझ ट्रकमा पठाइएको उनले बताइन् । त्यस्तै जिल्लाको अन्य पालिकाहरुले आवश्यक राहत संकलन गरी एकीकृत गरिरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीको बैठकले एकद्धार प्रणालीबाट सहयोग गर्ने निर्णय गरेको अनुसार नगरपालिकाको कार्यालयले भुकम्प पीडितहरुलाई सहयोग गर्न चाहने नगरवासी, संघसंस्था लगायतले नगरपालिकाको कार्यालयमा समन्वय गर्नका लागि सूचना जारी गरी अपिल गरेको छ ।
नेपाल प्रहरीले भुकम्पपीडितहरुको नाममा कुनै पनि माध्यमले कुनै प्रकारका सहयोग माग्ने व्यक्ति, संघ–संस्थाहरुको आधिकारिकता निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij