
बुधवार , कार्तिक २२, २०८०
भैरहवा, २२ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनको विषयमा अध्ययन/अवलोकनका लागि नगरपालिका कार्यालयको टोली भारत भ्रमणमा गएको छ ।
मंगलबार साँझ नगरप्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष, प्राविधिकसहितको टोली नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नविनतम अभ्यास, सिकाई र सिकाईको उपलब्धीका लागि भारतको चंडीगढतर्फ प्रस्थान गरेका छन् । त्यहाँ रहेको अविष्कार केन्द्र, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने मेसिनरी सामग्री, प्रयोगको अवस्था लगायत विषयमा अध्ययन/अवलोकनका लागि टोली भारत प्रस्थान गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
दशकौदेखि यहाँको फोहोरमैला दीर्घकालीन रुपमा उचित व्यवस्थापन हुन सकेको छैन । ‘नगरप्रमुख निर्वाचित भएदेखि नै नगरको फोहोरमैलाको दिर्घकालीन व्यवस्थापनका लागि गम्भिर हुनुहुन्छ’ नगरप्रमुखका स्वकीय सचिव बरकत बादशाह शेषले भने, ‘तर, नगरमा एकै स्थानमा बढी क्षेत्रफलमा सार्वजनिक जग्गा अभावका कारण ठूलो योजना सञ्चालन गर्नमा समस्या परेको छ ।’
हालको भ्रमणमा थोरै क्षेत्रफलमा सानो मेसिनमार्फत उचित व्यवस्थापन हुन सक्ने देखिएमा प्रक्रिया अघि बढाइने सक्ने सम्भावना रहेको उनको भनाइ छ । उनले फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि विभिन्न निकायसँग पटकपटक छलफल भएको र एशियाली विकास बैंक (एबीबी) समक्ष लगेको प्रस्तावमा एडीबी योजना सञ्चालनका लागि तयार रहे पनि जग्गा अभावकै कारण योजना सञ्चालन गर्न नसकिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij