
बिहिवार , कार्तिक २३, २०८०
रुपन्देही, २३ कार्तिक ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठदिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित तालिम बिहीवार समापन भएको अवसरमा बोल्ने वक्ताहरुले तालिमले कञ्चन गाउँपालिकालाई मेलमिलापको पर्याय बनाउने आशा समेत व्यक्त गरेका छन ।
कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको तालिममा ३० जना मेलमिलाप सहजकर्ताहरुले तालिम लिएका छन् । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) काठमाण्डौंको प्राविधिक सहयोगमा तालिम भएको हो ।
पालिकामा आउने मुद्दा मामिलाको सहजीकरण गर्ने, पैरवी गर्ने, मेलमिलाप गराउने उद्देश्यले स्थानीय पालिकाहरुमा उपाध्यक्षको संयोजकत्वमा मेलमिलाप केन्द्र गठन हुने व्यवस्था छ । बिहीबार तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन मेलमिलाप सम्बन्धि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले अदालतको भूमिकाको जिम्मेवारी पालिकाले पाइराख्दा स्थानीय जनतालाई स्वच्छ र विवादरहित ढंगले न्याय दिने विषयमा पालिका प्रतिवद्ध रहेको उल्लेख गरिन् ।
त्यसै गरी तालिम लिएपछिको अनुभव सुनाउँदै तालिमकी प्रशिक्षार्थी उजेली विश्वकर्माले तालिमले आफ्नो जीवनलाई नै परिवर्तन गरिदिएको बताइन् । तालिमले म धेरै जान्नेछु भन्ने घमण्ड तोडिदिएको र मेलमिलाप तालिम तालिममध्येमा पनि उत्कृष्ट तालिम रहेको विश्वकर्माको भनाइ छ ।
तालिमका प्रशिक्षक राममणी गौतमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३२ हजार बढी मेलमिलाप तथा सहजकर्ता यस्तै तालिममार्फत उत्पादन गरेको बताउँदै तालिम पाएपछि मेलमिलापकर्ताहरुले समाजमा राम्रो काम गरेर उदाहरण प्रस्तुत गर्न आग्रह गरिन् । उनले मेलमिलापकै सन्दर्भमा तालिम प्राप्त प्रशिक्षार्थीहरुबाट केही कमजोरी भए त्यसले आफूहरुलाई पनि बिझ्ने भएकोले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम गर्न तालिम लिएका प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।
गत बिहीबारदेखि सुरु भएको तालिमले गाउँपालिकामा आएका मुद्दा मामिला स्थानीयतरमै मिलाउन सहयोग पुग्ने विश्वास सहभागीहरुले गरेका छन ।
पालिकामा हुने झै–झगडा तथा विभिन्न प्रकारका मुद्दा अदालतमा भन्दा पनि पालिकामै मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र गठनको अवधारणा आएको हो ।
कञ्चन गाउँपालिकामा पनि स्थानीय मुद्दा मामिला पालिकास्तरमै मिलापत्र गराउन मेलमिलापकर्ताहरुलाई तालिमको आयोजना गरिएको हो ।
समापनका अवसरमा कञ्चनको वडा नम्बर ३ का वडाअध्यक्ष टिकाराम सापकोटा र वडा नम्बर ५ का वडाअध्यक्ष कुलप्रसाद पौडेलले पनि बोलेका थिए ।
कार्यक्रम कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख गिरीराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij