
शुक्रवार , कार्तिक २४, २०८०
भैरहवा, २४ कार्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रुपन्देहीको अध्यक्षमा रवि कुमार रौनियार मनोनित भएका छन् । भैरहवा निवासी रौनियारलाई शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् । पार्टीको अन्तरिम विधानको दफा १६ उपदफा १ (ञ) अनुसार रौनियारलाई रुपन्देही जिल्ला अध्यक्षमा मनोनित गरिएको लोसपाले जनाएको छ ।
लोसपा रुपन्देहीको जिल्ला सदस्यहरुमा गणेश पाठक, रामकिशुन नायक, श्रीचन्द जैसवाल, राम रक्षा मौर्य, सुनिता कलवार, प्रेम शर्मा, मेराज आलम, राम कृपाल बरुण, अनिल कुमार यादव, रामनाथ यादव, आरती अग्रहरी, सियाबल्लभ श्रीवास्तव, सुरेन्द्र हरिजन र विश्वनाथ राय मनोनित भएका छन् ।
यसअघि लोसपा रुपन्देहीको अध्यक्षको जिम्मेवारी राजेश रंजन वर्मा (अजय) ले सम्हालेका थिए । वर्माले पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि रौनियारलाई रुपन्देही जिल्ला अध्यक्षमा मनोनित गरिएको लोसपाका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए ।
लोसपा रुपन्देही जिल्ला अध्यक्षमा मनोनित भएका रौनियार यसअघि जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा थिए । उनले २०७९ पुसमा जसपा परित्याग गरेका थिए । त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा थिए । उनी मायादेवी च्यारिटेबल फाउण्डेशसहित विभिन्न संघ-संस्थामा समेत आबद्ध छन् ।
लोसपाले रुपन्देहीमा प्रतिनिधि सभा सदस्यतर्फ (प्रत्यक्ष) मा १ जना, प्रदेशसभा सदस्यतर्फ (प्रत्यक्ष) मा २, समानुपातिकतर्फ १, जिल्ला समन्वय समिति रुपन्देहीको उपप्रमुख, स्थानीय तहतर्फ गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष २ र विभिन्न पालिकाको वडाअध्यक्ष/सदस्यमा जितेको छ ।
पार्टीका केन्द्रीय वरिष्ठ सह–अध्यक्ष, प्रतिनिधि सभा सदस्य पूर्व शिक्षामन्त्री सवेन्द्रनाथ शुक्लको गृह जिल्ला समेत रहेको रुपन्देहीमा लोसपा बलियो शक्तिको रुपमा रहेको उक्त पार्टीका नेताहरु बताउँछन् । लोसपाबाटै रुपन्देही क्षेत्र नम्बर ३ (१) मा प्रदेशसभा सदस्यमा निर्वाचित सन्तोष कुमार पाण्डेय हाल लुम्बिनी प्रदेश सरकारको प्रवक्ता तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।
त्यस्तै लोसपा कपिलवस्तु जिल्ला अध्यक्षमा ओमकार नाथ शुक्ला र बाँके जिल्ला अध्यक्षमा कौशल कुमार मिश्र मनोनित हुनुभएको केन्द्रीय सदस्य खानले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij