२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पर्यटनमन्त्री किराँतीले भने–‘तिलौराकोट सूचीकृत गरेरै छाड्छौंं’ 

शुक्रवार , मंसिर ८, २०८०

भैरहवा, ८ मंसिर ।
प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्वारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्य सरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो । 

कपिलवस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत सम्बन्धमा विज्ञहरुद्वारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका विषयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन । तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्वारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाउने बताए । उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सूचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘मापदण्डअनुसार अन्तिम मनोनयन गर्नका लागि सरकारको तर्फबाट म संस्कृति, पर्यटन मन्त्रीका रुपमा प्रतिबद्धता गर्दछु, तोकिएकै मितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिनेछ’ मन्त्री किराँतीले भने । 
मन्त्री किराँतीले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतका लागि निरन्तर खोज अनुसन्धानमा लागेका विज्ञहरुलाई धन्यवाद दिदै तिलौराकोटलाई विश्वव्यापी बनाउने बताए ।  लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको विशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको उचाई विश्वमा एक पाईला माथि उठेको बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सूचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिवद्धता जनाइन् । उनले तिलौराकोट जस्ता पुरातात्विक स्थलहरुको विकासको गति ढिलो भएको बताउँदै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिवद्धता जनाए । ‘तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने कुरा हाम्रो लागि खुशीको कुरा हो, विज्ञहरुले निकै समय खर्चिएर प्रमाणहरु जुटाउनुभएको छ’ उपाध्यक्ष डा. लामाले भने । आफूले पदभार ग्रहण गरेलगत्तै तिलौराकोटको भ्रमण गर्दा झाडी र बुट्यानले ढाकेका देखेपछि सरसफाई गरी अहिले तिलौराकोटलाई सुन्दर बनाउने काम गरेको समेत उपाध्यक्ष डा. लामाले बताए । 
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने कुरा सकारात्मक रहेको बताउँदै आफूहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । उनले २५ वर्षसम्म कपिलवस्तुको खोज अनुसन्धानमा विज्ञहरु लागि परेको बताउँदै सम्पदा सूचीमा छिटो सूचीकृत गरी तिलौराकोटको विकास गर्न सुझाव दिए । 

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कुनै बेला कपिलवस्तुलाई राज्यले हेरेन भनेर आफै साईकल यात्रामा निस्केको स्मरण गर्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुशी लागेको बताए । उनले स्थानीय सरकारका रुपमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाए ।  

बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आफूहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदीले यूनेस्को विश्व सम्पदा सूचीमा सुचीकृतका लागि सरकारले सबै पहल र कामहरु गर्ने बताउँदै दीर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकार र कपिलवस्तुका सबै जनप्रतिनिधिहरुको साथ सहयोगको खाँचो रहने बताए । 

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्राधानाङ्गा, लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सचिव उमेश ढुंगाना,  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले बोल्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतको सम्पूर्ण प्रमाण र आधार सहित अन्तिम दस्तावेज तयार पार्ने विज्ञटोलीलाई धन्यवाद दिए । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि गत सेप्टेम्बरमै प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको छ । 

प्रस्तावित मनोनयनका सम्बन्धमा प्राप्त सुझाव र विज्ञहरुसँगको छलफलबाट अन्तिम मनोनयन तयार गर्ने कार्य अन्तिम चरणमा छ । उक्त अन्तिम मनोनयन लुम्बिनी विकास कोषका तर्फबाट नोभेम्बर ३० भित्र पुरातात्व विभाग हुँदै मन्त्रालयमा पठाउने र आवश्यक पृष्ठपोषणपछि यूनेस्को विश्व सम्पदा केन्द्रमा सन् २०२४ को जनवरी २४ भित्र पेश गर्नुपर्नेछ । 

अन्तिम मनोनयन दर्ता भएपछि इभ्यालेशन मिशन, इकोमस सहितले सन् २०२४ सम्म अध्ययन गर्ने र सन् २०२५ मा विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगिने प्रवाधान रहेको अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलले बताए  । कार्यशालामा सम्पदा विशेषज्ञ डा. मार्सल, प्रो. डा. रविन कनिङहमले कपिलवस्तुमा हालसम्म भेटिएका प्रमाण र विश्व सम्पदा सूचीमा सूचीकृतका आधारहरुबारे जानकारी गराएका थिए । 

अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलको उपस्थितिमा अन्र्तराष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअल, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, निर्देशक समितिका सदस्य सचिव एंव कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीसहितको विज्ञ समूहले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काममा संलग्न भएका हुन  ।  

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो । 

विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलवस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए । 

सरकारले २०७८/७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । 

कार्यक्रम अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री किराँती, कोषका उपाध्यक्ष डा. लामा, मन्त्रालयका सचिव, पुरातत्व विभागका महानिर्देशकसहितको टोलीले तिलौराकोट दरबार क्षेत्रको स्थ्लगत निरीक्षण र अवलोकन गरेको थियो । उक्त निरीक्षणमा राष्ट्रिय अन्र्तराष्ट्रिय विज्ञहरु, कोषका पदाधिकारी, कर्मचारी र  सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

त्यस्तै बुधबार र बिहीबार विज्ञहरुको टोलीले मुख्य सरोकारवालाहरु कपिलवस्तु नगरपालिकाका प्रमुख, वडाअध्यक्षहरुसहित सम्पदाका लागि प्रस्तावित कोर एरिया र बफरजोजनको स्थलगत निरीक्षण गरेको थियो ।