२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गैडहवा तालको प्रचार गर्न भलिबल प्रतियोगिता र साँस्कृतिक महोत्सव

शनिवार , मंसिर ९, २०८०

भैरहवा, ९ मंसिर ।
लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचारप्रसार र पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र साँस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका वडा नम्बर ४ स्थित ५० विघा क्षेत्रफलमा फैलिएको गैडहवा तालको प्रवद्र्धनका लागि २०८० मंसिर २७ देखि ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक महोत्सव आयोजना गरिएको हो ।

स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी टीमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए । बी लेभलको प्रतियोगितामा एउटा टीममा राष्ट्रियस्तरका खेलाडी तीनजना मात्र राख्न पाइने र बाँकी खेलाडी प्रदेश र स्थानीयस्तरका हुनुपर्ने नियम बनाइएको छ । जिल्ला बाहिरबाट आउने खेलाडीलाई खाना र आवासको निःशुल्क व्यवस्था आयोजकले गरेका छन् ।

प्रतियोगिताको विजेता टीमले ७५ हजार, उपविजेताले ५० हजार, तेस्रो हुने समूहले ३० हजार तथा सान्त्वना हुने टीमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए । 

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन बिकासका लागि भलिबल प्रतियोगिता र साँस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गरे ।

भलिबल प्रतियोगिता र साँस्कृतिक महोत्सवमा सहभागी हुनेहरुलाई डुंगा शयर गराई तालको प्रचारप्रसार हुने उनले बताए । गैडहवा ताल दर्जनौं प्रजातीका चराहरु विचरण गर्ने थलो पनि भएको बताउँदै अध्यक्ष पौड्यालले यसलाई पालिकाको गौरवको आयोजनाको रुपमा विकास गर्ने र होम स्टेसहित अन्य पर्यटकीय पूर्वाधार थप गर्ने गरी अघि बढिएको बताए । भलिबल प्रतियोगिता र साँस्कृतिक महोत्सवका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने अध्यक्ष पौडेलले बताए ।

सयौं वर्षअघि मानव निर्मित गैडहवा ताल क्षेत्रको पूरा क्षेत्रफल ८४ विघा छ । विश्व सिमसार क्षेत्रमासमेत सूचीकृत तालमा पर्यटक लक्षित २ वटा अटोमेटिक मेशिन जडित तथा २ वटा खुट्टाले चलाउने डुंगा सञ्चालनमा रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीसहित जातीय तथा परम्परागत परिकारसँगै डुंगा सयर पनि गर्न पाइने आयोजकले जनाए । कार्यक्रममा गैडहवा गाउँपालिका वडा नम्बर ६ की वडाअध्यक्ष मीना क्षेत्री, भलिबल रेफ्री रामबहादुर थापा, बाबुराम मल्ललगायतले बोल्दै प्रतियोगिता सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए ।