
शनिवार , मंसिर ९, २०८०
रुपन्देही, ९ मंसिर ।
‘लैगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा शनिबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा वरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ । अभियानकै क्रममा रुपन्देहीको कञ्चन गाउँपालिकामा समेत शनिबारदेखि हिंसाविरुद्धको अभियान सुरु भएको छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगर, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यलगायतले म हिंसा गर्दिन, हिंसा सहदिँन, हिंसाविरुद्धमा आवाज उठाउँछु, हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु भन्ने ब्यानरमा हस्ताक्षर गरे ।
त्यसअवसरमा बोल्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले महिला हिंसा समाजका विभिन्न स्थानमा भइरहेको र हिंसासमेत विभिन्न प्रकृतिका भएकोले त्यसको अन्त्यका लागि सवैको ऐक्यवद्धता जरुरी रहेकोमा जोड दिए । उनले कञ्चन गाउँपालिकालाई महिला हिंसा अन्त्य पालिका घोषणा गर्न सबैको सहयोग भए त्यो सम्भव रहेकोले महिला हिंसा नियन्त्रणमा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
त्यसै गरी कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभइ सबै समयमा नै महिला हिंसा नियन्त्तणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष कुलप्रसाद पौडेलले महिला हिंसाविरुद्धको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिदै खास गरी महिला दिदीबहिनीहरुले अभियानलाई सफल बनाउन बढी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता चित्र तुलाचनले महिलाहरुको अधिकार सुनिश्चत गर्न सबै तहका सरकारले मुख्य भूमिका खेल्नुपर्ने बताउँदै १६ दिने अभियान गाउँका प्रत्येक टोलटोलमा पुुग्नुपर्ने बताए ।
कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारुले स्वागत गरेकी थिइन् भने सहायक महिला विकास निरीक्षक राधा भट्टराई आचार्यले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij