२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

विमानस्थल पूर्णरुपमा सञ्चालन नभएपछि व्यवसायीले बनाए ‘जहाज’

आइतवार , मंसिर १०, २०८०

भैरहवा, १० मंसिर । 
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भइ सञ्चालनमा आए पनि नियमित रुपमा उडान अवतरण नभएपछि व्यवसायीहरु निराश भएका छन् ।  निराश पनि किन नहोउन राज्यले विमानस्थल निर्माण र सञ्चालनमा खर्च गरेको भन्दा बढी लगानी निजी क्षेत्रले गरेका छन् । 

निजी तथा सामाजिक क्षेत्रका संघ–संस्थाहरुको संस्था सिद्धार्थ संजाल, रुपन्देहीले पनि कार्तिकको दोस्रो साताबाट विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आन्दोलन गरिरहेका छन । विमानस्थल नियमित सञ्चालन गर्न पटकपटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई एकमहिने अल्टिमेटमसहित ज्ञापनपत्र दिइसकेको छ । त्यस्तै, कात्तिक १५ गतेदेखि सम्बन्धित निकायहरुमा पत्राचार भेटघाट तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउने, आन्तरिक हवाई टिकट विक्री नगर्नका लागि हवाई एयरलायन्सहरुमा पत्राचार गर्ने र विरोधस्वरुप शान्ति र्याली निकाल्ने, आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना दिने, आन्तरिक हवाई उडान बन्द गर्न दबाबस्वरुप धर्ना तथा विरोध प्रदर्शन गर्ने र मंसिर २५ गतेदेखि अनिश्चितकालका लागि आन्तरिक हवाई उडान र बेलहिया नाका पूर्ण रुपमा बन्द गर्न आह्वान गर्ने लगायतको आन्दोलनको तय भएको छ । 

विमानस्थललाई नै केन्द्र बनाई निजी क्षेत्रबाट अर्बौको लगानी भइसकेको र भइरहेको छ । उद्घाटन भएको २ वर्ष बित्दा पनि नियमित रुपमा विमानहरु आउन नसकेको कारण यहाँका उद्योगी व्यवसायी निराश छन् । अहिले यहाँ निजी क्षेत्रको जुनसुकै कार्यक्रम होस विमानस्थलकै एजेण्डा पहिलो बनने गरेको छ । मंसिर ६ गतेबाट भैरहवामा उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव सुरु भएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिनका लागि आयोजकले प्रवेशद्वार नै विमानस्थलको अनुभुत हुने गरी बनाएका छन् । 

विरोधको कार्यक्रमलाई जनस्तरमा लैजान एवं अन्र्तराष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्यले प्रवेशद्वारमा जहाजको आकृति दिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । 

‘विमानस्थललाई नै हेरेर यहाँ अरबौं लगानी भएको छ । काठमाण्डौमा जाम छ तर भैरहवामा तयारी अवस्थामा रहेको विमानस्थल चलाउनेतर्फ सरकारले नै उदासिनता देखाएपछि जनस्तरमै दबाब सिर्जना गर्नका लागि जहाजको डेमो बनाइएको हो । करिब ५ लाखको लागतमा भारतबाट कालीगढ बोलाएर प्रवेशद्वारमा बिमानको आकृति तयार गरिएको हो, ’उनले भने ।
मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यही परोस् भन्ने मनसायले पहिलो इम्प्रेशन पार्न विमान निर्माण गरिएको हो । कतिले यसको व्याख्या फरक गर्लान् तर यो बनाउनुको एक मात्र उद्देश्य व्यवसायीहरुको पीडा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि दबाब दिनु नै हो । 

‘हामी अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनपर्दछ भन्ने मागसहित आन्दोलनमा छौँ । यसका लागि जहाँबाट पनि हामी सरकारको विरोध गर्दछौं,’ संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले भने । यो व्यवसायीहरुको पीा बोलेको हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि रुपन्देहीको पर्यटन क्षेत्रको मुहार फेरिने आसमा बसेका पर्यटन व्यवसायीले विमानस्थललाई लक्षित गरी करिब ४० अर्ब रुपैयाँ होटेल क्षेत्रमा लगानी गरेका छन् । विमानस्थल नियमित सञ्चालन नहुँदा अहिले रुपन्देहीका ३० प्रतिशत होटेल बैंकको लिलामी प्रक्रियामा गइसकेको छ । बैंकको ब्याज र धरपकडले आत्महत्या गर्ने अवस्थामा पुगेका छन् भने अझै पनि विमानस्थल पूर्ण क्षमतामा नचल्ने हो भने अवस्था भयावह हुन्छ’ उनले भने ।

‘हामीहरुले जति सक्यो चाडो नियमित अन्तर्राष्ट्रिय उडान भर्न, नेपाल वायुसेवा निगमको जहाजहरुबाट उडान भर्न र कुटनीतिक पहलकदमी सहित अन्य अन्तराष्ट्रिय उडानको माग गरेका छौ । सञ्चालनमा आएको २ वर्ष बित्दा पनि विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान नहुनु हामी सबैको लागि दुःखद हो । हामीहरुको एक मात्रै एजेण्डा अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान हुनु रहेको छ, ’सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने । 

‘निजी क्षेत्रको पीडा कसले बुझने हामीहरुको अहिले एकसुत्रीय मुद्धा नै अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान हुनु नै हो, यसले मात्रै निजी क्षेत्रलाई बचाउन सकिन्छ । यस क्षेत्रको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै भएको लगानी डुब्ने र उद्योगी व्यवसायी सडकमा आउने अध्यक्ष श्रेष्ठले भने, ‘एकातिर निजी क्षेत्रको अर्बौं लगानी खेर गइरहेको छ भने विमानस्थलको लगानी पनि जोखिममा छ । ’

‘स्थानीय बजारमा खरिद गरौं स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सव भइरहेको छ ।