२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

भैरहवामा राप्रपाद्वारा विरोध प्रदर्शन

आइतवार , मंसिर १०, २०८०

भैरहवा, १० मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सिद्धार्थनगर समिति, रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन गरेको छ । शनिबार साँझ सिद्धार्थनगर नगरपालिका–३ स्थित राप्रपा पार्टी कार्यालयबाट नाराबाजीसहित निस्किएका पार्टीका नेता कार्यकर्ताहरुले मिलनचोकमा विरोध प्रदर्शन गरेका हुन् ।

राँके जुलुससहित प्रदर्शन गर्ने कार्यक्रम रहे पनि प्रहरीले मसाल बाटोमा खोसेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन सिद्धार्थनगरका अध्यक्ष सुमन गुरुङले बताए । उनले प्लेकार्डसहित मिलनचोकमा प्रदर्शन गरिएको बताए ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । उनले विरोधलाई निषेध गर्न नपाइने बताए । उनले दुर्गा प्रसाई मात्र नभइ जनताको लागि लड्ने जोसुकैलाई पनि राप्रपाले सहयोग गर्ने बताए । उनले वर्तमान सरकारविरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताए । उनले संघीयता खारेज गर्नुपर्ने बताए । उनले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयता खारेजी, महंगी नियन्त्रणको माग तथा, शान्तिपूर्ण आन्दोलनमा धरपकडको विरोध गर्दै प्रदर्शन गरिएको बताए ।

पार्टीका जिल्ला सल्लाहकार समितिका संयोजक कृष्ण प्रसाद भण्डारीले कांग्रेस, एमाले र माओवादीको गतिविधिका कारण नेपालका युवाहरु विदेशिन बाध्य भएको बताए । उनले दुर्गा प्रसाई नेतृत्वको आन्दोलनलाई सहयोग गर्नुपर्ने बताए ।
राप्रपाका युवा नेता शंकर खत्रीले काठमाडौंमा दुर्गा प्रसाईको अभियानमा सहभागी भएका राप्रपाका नेता कार्यकर्ता तथा आम नागरिकलाई प्रहरीले धरपकड गरेको बताए । उनले दुर्गा प्रसाई नेतृत्वको आन्दोलनप्रति आफूहरुको ऐक्वद्धता रहेको बताए । उनले प्रसाईले सर्वसाधारणको लागि राम्रो मुद्दा बोकेको बताए ।

कार्यक्रममा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियान र शिव सेना नेपालका प्रतिनिधिहरुले पनि बोलेका थिए ।

IMG_4757.jpg

प्रदर्शनमा सहभागी राप्रपा नेता कार्यकर्ताहरुले प्रहरी दमन मुर्दावाद, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गृहमन्त्री राजीनामा देउ, प्रचण्ड सरकार मूर्दावाद, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद, संघीयता खारेज गर लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, बसन्त विक्रम शाही, रुपन्देही जिल्ला सचिव बलराम शर्मा, दुधनाथ जैसवाल, शिव सेना नेपालका प्रतिनिधि, सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो । 

n.jpg