
सोमवार , मंसिर ११, २०८०
रुपन्देही, ११ मंसिर ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नम्बर ५ स्थित ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आइतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार सडक नाटक प्रदर्शन गरिएको हो ।
कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाइने र गरेमा कारवाही मात्र होइन समाजमै बदनाम हुने अवस्था आउने लगायतका विषयमा समुदायलाई सचेत बनाउने गरी सडक नाटक प्रदर्शन गरेका थिए ।
त्यसै गरी विद्यार्थीले लागूऔषध सेवन गर्दाको परिणाम, बालविवाह गर्दा हुने दीर्घकालीन स्वास्थ्य असर, बहुविवाह गर्दा कानूनी दण्डको व्यवस्था र जरिवाना लगायतका विषयमा मूख्य कलाकार शूरबीर पण्डित लगायतका कलाकारले नाटकमार्फत सन्देश दिएका छन् ।
सडक नाटककै अवसरमा मन्तव्य व्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समय परिस्थति अनुसार हामीले गर्न हुने र नहुने विषयमा सडक नाटकमार्फत सिकेको बताउँदै सडक नाटकबाट पाएको शिक्षा घर व्यवहारमा लागू गर्न अनुरोध गरे । उनले सबै प्रकारका हिंसाबाट कञ्चन गाउँपालिकालाई मुक्त गर्ने अभियानमा कञ्चनमा बसोबास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र नागरिक सवैको साझा दायित्व भएको बताए ।
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा शनिबारदेखि सुरु भएको हो । त्यस अवसरमा कञ्चन गाउँपालिकामा विभिन्न सडक नाटक प्रदर्शन भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij