
बुधवार , मंसिर १३, २०८०
रुपन्देही, १३ मंसिर ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले मुलुकमा राजनीतिक एजेण्डाको खडेरी रहेको बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरु एजेण्डामा हिंड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने अवस्था आएको बताए ।
गृह जिल्ला रुपन्देही आएका महासचिव भुसालले बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्त भेटघाट कार्यक्रममा राजनैतिक संकट गहिरिदै गएको बताएका हुन् । उनले संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय पूँजीको विकास, कृषि उत्पादनको प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद् विघटन गर्नुले मुलुकमा राजनैतिक रुपमा संकट गहिरिन थालेको टिप्पणी गरे ।
‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद् विघटन गरेर जनताको मुद्धा छोड्ने र राजनीति विग्राने काम भयो’ महासचिव भुसालले भने–‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उद्देश्य रहेका विचारबिहीनहरुले हल्ला मच्चाइरहेका छन् ।’
व्यवसायी दुर्गा प्रसाईँ जस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुमा राजनैतिक दलहरुमा एजेण्डा नहनु रहेको उनको भनाइ छ । उनले अब मुलुकलाई अगाडि बढाउन एकीकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पूँजीको विकास गर्दै रोजगारी सृजना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने बताए । उनले नेपालको कृषि उत्पादन प्रणालीलाई टेकेर उत्पादन बढाएर मात्रै राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए । उनले युवा, विद्यार्थी र मजदुर सबै तहमा उकुसमुकुस रहेकाले यसबाट मुक्ति दिलाउनका लागि अब राजनीतिक दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
भेटघाटमा पार्टीका नेताहरु हिराध्वज शाह, कमल बस्याल, हरी पहारी, पार्टीका जिल्ला कार्यबाहक अध्यक्ष श्रीराम यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij