२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्ने विज्ञहरुको सुझाव

बिहिवार , मंसिर १४, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १४ मंसिर ।
    पछिल्लो समय प्रति जैविक प्रतिरोधको अत्याधिक र अनियन्त्रित प्रयोगले मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई गम्भिर असर गरिरहेको विज्ञहरुले बताएका छन् ।

    लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले रुपन्देहीको बुटवलमा आयोजना गरेको एक स्वास्थ्य अवधारणा तथा प्रति जैविक प्रतिरोध सचेतना विषयक गोष्ठीमा बोल्ने सरोकारवालाहरुले उत्पादन बढी लिने लोभमा प्रयोग हुने एन्टिबायोटिकका अवशेषले वातावरण तथा सबै जीवलाई असर गरेको बताएका छन् । संक्रामक रोगहरुमध्ये करीब ६१ प्रतिशत रोगहरु वन्यजन्तु र घरपालुवा पशुपन्छीहरुमा उत्पत्ति भएर मानिसमा सर्ने गरेको अध्ययनले देखाएको छ । यस्ता जुनोटिक रोगलाई कम गर्न एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्ने वरिष्ठ पशु चिकित्सक परवेज आलमले बताए । 

    पशुपालन, माछापालन र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग भएको छ । जैविक सुरक्षाका उपायहरु धेरै कमजोर भएकाले मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई एन्टिबायोटिकको प्रयोगले गम्भीर असर गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक प्रबेश सिंह कुँवरले बताए ।

    एन्टिबायोटिक प्रयोगको बारेमा चेतनाको अभाव हुनु तथा बिरामीहरूले एन्टिबायोटिकको सम्पूर्ण पाठ्यक्रम पूरा नगर्दाले पनि त्यसको असर बढिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक प्रियंका उप्रेतीले बताइन् । एन्टिबायोटिक प्रयोग गर्दा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्ने उनको भनाइ छ । विश्वमा मृत्युको कारणमध्ये एन्टिबायोटिक प्रयोग १० नम्बरमा आउने अध्ययनले देखाएको छ । यसको अध्याधिक प्रयोग नरोके केही वर्ष भित्रै पहिलो नम्बरमा आउने विज्ञहरु बताउँछन् ।

    मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई छुट्टाछुट्टै रुपमा भन्दा एकीकृत रुपमा हेर्नुपर्छ भन्ने अवधारणासहित पछिल्लो समय एक स्वास्थ्य अवधारणालाई लिइएको छ । एन्टिबायोटिकको नियमनका लागि सबै पक्ष लाग्नुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक राम पाण्डेले बताए । नियमनसँगै सचेतना र शैक्षिक पाठ्यक्रममा जोड्नुपर्ने पाण्डेले बताए ।

    प्रत्येक वर्ष पाँचवटा नयाँ रोग मानवमा देखापर्ने र त्यसमा तीनवटा जुनोटिक रोग रहेको अध्ययनले देखाएको छ । जैविक सुरक्षालाई मध्यनजर गरी सबै नागरिक तथा सरोकारवालाहरुले सबै जीवको स्वास्थ्यका लागि एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्ने देखिएको छ । त्यसका लागि एक स्वास्थ्य अवधारणाको रणनीति अपनाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।