२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनीमा छाडा चौपाया व्यवस्थापन गर्न कोष र नगरपालिकाबीच सहकार्य

बिहिवार , मंसिर १४, २०८०

भैरहवा, १४ मंसिर ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त पहल गर्ने भएका छन् । केही दिन यता छाडा चौपायाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएपछि कोष र नगरपालिकाका प्रतिनिधिबीच बैठक बसी अस्थायी र दीर्घकालीन समाधानको खोजी गर्ने निर्णय भएको हो ।

छाडा चौपायालाई हाल हाल अस्थायी रुपमा राखिएको गौशालालाई व्यवस्थित बनाउने निर्णय भएको छ । अस्थायी रुपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रुपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थपन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको बैठकले अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गर्दा उठेका जनगुनासोलाई तत्काल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णय समेत भएको छ । 
लुम्बिनी साँस्कृतिक नगरपालिकी उपप्रमुख कल्पना हरिजनको संयोजकत्वमा कपिलवस्तु र रुपन्देहीको देवदहमा सञ्चालित गौशालामा छाडा चौपायाको व्यवस्थापनका लागि सहजीकरणको जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

विभिन्न सञ्चारमाध्यममा छाडा चौपाया व्यवस्थापन नभएको भन्दै समाचारहरु आएकोप्रति ध्यानाकर्षण जनाउँदै हाल अस्थायी रुपमा व्यवस्थापन गरिएको र त्यसलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णय समेत भएको बताए । 

लुम्बिनीमा छाडा चौपायाका कारण किसानहरुको बाली नाली समेत नष्ट गर्ने गरेकाले लुम्बिनी साँस्कृतिक नगरपालिकाको आग्रहमा लुम्बिनी विकास कोष क्षेत्रभित्र अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिदै आएको हो । एक महिनायता लुम्बिनीमा अस्थायी रुपमा छाडा चौपायालाई व्यवस्थापन गर्दा किसानहरुलाई राहात मिलेको छ भने अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा छाडा चौपायाकै कारण उत्पन्न समस्याबाट मुक्ति मिलेको छ ।

कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त रुपमा लुम्बिनीमा देखिएको छाडा चौपायालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी काम गर्ने समझदारी समेत बनेको छ ।

विश्वभरका पर्यटकहरु आउने भएकाले लुम्बिनीमा हाल अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिएको र यसको दीर्घकालीन व्यवस्थापनका लागि अन्य संघ–संस्थाहरुलाई समेत बैठकले अपील गरेको छ ।