२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कञ्चन–५ मा उत्कृष्ट १५ विद्यार्थीलाई नगदसहिद सम्मान

शुक्रवार , मंसिर १५, २०८०

रुपन्देही, १५ मंसिर ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ मा विद्यार्थी प्रोत्साहन, बधाई तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
‘वडा नम्बर ५ को शान विद्यार्थीका लागि प्रोत्साहन’ भन्ने नाराका साथ गरिएको प्रोत्साहन, बधाई तथा प्रशंसा वितरण कार्यक्रममा वडाभित्रका सामूदायिक विद्यालयबाट एसईईमा ए प्लस ल्याएर उत्तीर्ण हुने विद्यार्थीका लागि ४ हजार र अन्य पालिका तथा वडाबाट ए प्लस ल्याई ५ नम्बर वडाका सामूदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीका लागि रु. २ हजारसहित पुरस्कृत गरिएको हो ।  

त्यसअवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनका जनप्रतिनिधिहरुको चाहना कञ्चनका विद्यार्थीहरु हरेक क्षेत्र र स्थानमा अब्बल भएको देख्ने रहेको बताए । उनले पढाईलाई जीवनको आधार भएकोले पढाईलाई अब्बल बनाउन सवै विद्यार्थीहरुसँग आग्रह गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले एसईईमा पाएको सफलतालाई निरन्तरता दिन आग्रह गरिन् । उनले देशलाई अझै पनि दक्ष जनशक्तिको खाँचो रहेकोले विद्यार्थीहरुबाट देशले ठूलो अपेक्षा गरेको बताइन् । उनले विद्यार्थीहरुलाई अझ अब्बल बन्न यो प्रोत्साहनले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

त्यसै गरी कञ्चन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कुलप्रसाद पौडेलले आजका छोराछोरी हाम्रा सपना भएको र यी छोराछोरीलाई असल शिक्षा दिन नसकिए भने हाम्रो भविष्य निर्माण गर्न नसकिने बताए । उनले यही कुरा आत्मसाथ गरेर विद्यार्थी प्रोत्साहन कार्यक्रम लिएर आएको बताए । उनले निर्वाचनका बेला आफूहरुले जनताका सामू गरेको प्रतिवद्धता पूरा गर्ने सन्दर्भमा भोलीको नेपालका सपना विद्यार्थीलाई थोरै भए पनि सहयोग र प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए । 

कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, पूर्व कार्यपालिका सदस्य पुरनबहादुर नेपाली र कुमारी घर्ती, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्माले समेत प्रोत्साहनले विद्यार्थीमा उर्जा थपिने विश्वास व्यक्त गरे । 

वडा सचिव चोलाकान्त पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जनही ४ हजारबाट ६ जना र जनही २ २ हजारले  ९ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।