२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिद्धार्थनगर–२ मा गाउँब्लक जग्गाको नाप नक्सा सुरु

शुक्रवार , मंसिर १५, २०८०

भैरहवा, १५ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ अन्तर्गत विभिन्न टोलका गाउँब्लक जग्गाहरुको नाप नक्सा सरु भएको छ । बिहीबार जग्गा नाप नक्सा कार्यको एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खानले जग्गा भएर पनि लालपूर्जा नहुँदा नागरिक पीडित भएको बताए । उनले वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले गाउँब्लक जग्गाको नापनक्सा कार्यमा धेरै सहयोग गर्नुभएको र वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव पनि मिहिनेतका यो कार्य प्रारम्भ गर्नमा लाग्नुभएको बताए । उनले वडा नम्बर १ देखि १३ सम्म गाउँब्लकमा रहेका जग्गाधनीहरुले आफ्नै कार्यकालमा लालपूर्जा पाउने चाहना रहेको बताए । 

त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले लालपूर्जाको माध्यमबाट धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । उनले जग्गाहरुको नाप नक्सा कार्यमा कुनै असहयोग नहुनेमा आफू विश्वस्त रहेको बताइन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले लालपूर्जा नहुँदा वडाबासी अत्यन्तै पीडाबाट गुज्रिएको बताए । उनले नापी टोलीलाई इमान्दारीपूर्वक सहयोग गर्न वडाबासीलाई आग्रह गरे । वडाअध्यक्ष श्रीवास्तवले वडामा रहेका सार्वजनिक जग्गाको पनि संरक्षण गर्नु उत्तिकै आवश्यक रहेकोमा जोड दिए ।

नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सन्दिप ढकालले स-साना कुरामा विवाद नगर्न आग्रह गरे । उनले भने, ‘जति विवाद गर्नुहुन्छ । त्यति नाप नक्सा कार्य लम्बिदै जान्छ । ’ढकालले जग्गा नापजाँच गरिसकेपछि सूचना निकादिने बताए । 

सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले लालपूर्जाबिहीन कोही पनि नहोस् भन्नेतर्फ अगाडि बढेको बताए । उनले वडा नम्बर २ लाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले जग्गाधनीसँग लालपूर्जा नहुँदा उहाँहरु पीडित भएको बताए । उनले कर्मचारीलाई सहयोग गरे छिटो जग्गा नापजाँच सम्पन्न भएर लालपूर्जा प्राप्त गर्ने वातावरण बन्ने बताए ।

सिद्धार्थनगर–२ का निवर्तमान वडाअध्यक्ष दीपक कुमार थापाले लालपूर्जा नहुँदा धेरै नागरिक मर्कामा परेको बताए । उनले नगरपालिका वडाले चासो दिनुपर्ने र वडाबासीले कर्मचारीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस सिद्धार्थनगर–२ का बुथ सभापति भीम बहादुर दगामीले छिटो नापनक्सा कार्य सुरु भएर लालपूर्जा वितरण हुने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर–२ की पूर्व वडा सदस्य इन्दिरा देवी क्षेत्रीले जग्गाको लालपूर्जा नहुँदा वडाबासी पीडित भएकाले वडाबासीको हातहातमा छिटो लालपूर्जा पुग्ने विश्वास व्यक्त गरिन् । श्याम कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।