
आइतवार , मंसिर १७, २०८०
बुटवल, १७ मंसिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिको आयोजनामा अन्तरविद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता रुपन्देहीमा सम्पन्न भएको छ । तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा भएको फाइनल प्रतियोगितामा बाँकेको एन्जल्स स्कूल प्रथम, रुपन्देहीको तिलोत्तमास्थित कुंवरवर्ती बोर्डिङ स्कूल द्वितीय, रुपन्देहीकै दुर्गा शैक्षिक गृह तृतीय र कृष्णसार विद्या निकेतन बर्दिया सान्त्वना भएका छन् ।
गत असोजदेखि पालिकास्तरबाट छनोट हुँदै सुरु भएको प्रतियोगितामा जिल्लास्तर हुँदै प्रदेशस्तरमा आइपुग्दा लुम्बिनी प्रदेशका ८ जिल्लाबाट १४ विद्यालयका नृत्य टोलीले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यालयले क्रमश : रु. २० हजार, रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालयका नृत्य टीमहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
कोरोना महामारीका कारण केही समय विद्यार्थीहरुमा एक खालको मानसिक डर त्रास उत्पन्न भएको र शैक्षिक गतिविधि समेत शिथिल बनेको सन्दर्भमा प्याब्सन केन्द्रले विद्यार्थीलाई मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराई मानसिक रुपमा तन्दुरुस्त बनाउने उद्देश्यले राष्ट्रियस्तरमै लोक नृत्य प्रतियोगिता सुरु गरेको प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले बताए । यो प्रतियोगिताले लुम्बिनी प्रदेशका सबै पालिका, जिल्ला र प्रदेशको ऐतिहासिकता, लोक संस्कृति, परम्परा र भेषभुषालाई नृत्यका माध्यमबाट विद्यार्थीहरुले उजागर गरेको अध्यक्ष पाण्डेयले बताए ।
प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । कार्यक्रम गर्न वनबाटिकाले प्रतियोगी छात्रछात्रा र आयोजकलाई निःशुल्क रुपमा कार्यक्रमस्थल र प्रवेश टिकट निःशुल्क उपलब्ध गराएका थिए ।
प्रतियोगिताको निर्णायकमा राष्ट्रिय नाचघर जमलका निवर्तमान महाप्रबन्धक राजेश थापा र सुरेन्द्र देशराज रहेका प्याब्सन लुम्बिनीका सह–सचिव कृष्ण शर्माले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij