
आइतवार , मंसिर १७, २०८०
रुपन्देही, १७ मंसिर ।
नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । रुपन्देहीको बुटवलमा शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लुिम्बनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।
सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउनुपर्यो । स्थानीय क्रियाशिल बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ ।’ उनले भने, ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौ । ’
प्रदेश सभापति पुनले संघीय सरकारले पनि संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको जानकारी दिए। प्रदेश सभापतिलाई केन्द्रीय सह–महामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ सम्मेलनमा सुझाव उठेको छ ।
मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखि वडा संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए । मुलुकका अहिले समस्या र उत्पन्न परिस्थितिका कुरालाई सबै मिलेर एकताबद्ध गर्न सबै पार्टी जानुपर्छ भन्ने सन्देश दिएको उनले बताए ।
त्यस्तै कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ ।
पार्टीमा एकपटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वत प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।
शनिबार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्दीय सदस्यहरुको पनि सहभागीता रहेको थियो ।
बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल भएको थियो ।
समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाव व्यक्त गरेका थिए ।
समूहगत छलफलका सुझावहरु समूहका नेताहरुले बन्दसत्रमा पेश गरेका थिए । प्राप्त सुझावलाई समेत समेटिने गरी प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो । सम्मेलनको शनिबार कांग्रेस केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय जना बढीको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij