
आइतवार , मंसिर १७, २०८०
भैरहवा, १७ मंसिर ।
रुपन्देहीको भैरहवामा मंसिर ६ गतेदेखि छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० सुरु भएको थियो । सोमबार (मंसिर १८ गते) महोत्सवको समापन हुँदैछ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आयोजना गरेको महोत्सवमा कोही साँस्कृतिक कार्यक्रममा व्यस्त देखिन्छन् । कोही स्टलमा सामान किन्न, कोही पिङ चढ्न भने कोही विभिन्न स्टलमा राखिएका खाजा, नास्ताको स्वाद लिन ।
सोही क्रममा स्टल नम्बर ७ उपभोक्ता रोजाइमा पर्न सफल भएको छ । स्टल नम्बर ७ को नामै छ ‘स्वादिलो खाजा घर’ । यो स्टलमा रहेका व्यक्तिहरु तीनै हुन् जसले सिद्धार्थनगर नगरपालिकाद्धारा केही महिना अघि सञ्चालित हस्पिटालिटी तालिममा सहभागीता जनाएका थिए । स्वादिलो खाजा घरमा रोशन बहादुर थापा, अरबिन्द्र चौधरी, सन्तोषी गुरुङ, रवि पन्थी, चेत सिंह गुरुङ, मीना गुरुड, ज्ञानेन्द्र पाण्डे, कर्ण जि.सी., सिमरन सहनशील नेपाल, इस्मिता श्रेष्ठ, प्रतिमा तुलाधर थापा र सभ्या थापा खटिएका छन् ।
‘सिद्धार्थनगर नगरपालिकाद्वारा सञ्चालित १५ दिने तालिममा सहभागीता भएका थियौं । उक्त तालिममा २० जनाको सहभागीता रहेका थियो । जसमध्ये हामी अधिकांश यो स्टलमा ग्राहकलाई खाजा खुवाउँदैछौं, ’सिद्धार्थनगर ४ का रोशन बहादुर थापाले भने । उनले तालिम लिएका धेरै जना यो टीममा रहेको र कोही विदेश तथा कोही होटल सञ्चालन गरिरहेको बताए । आफूहरुले बेसिक तालिम लिएको र अब एडभान्स कोर्स आवश्यक थापाको माग छ ।
स्टलमा दैनिक १ सय जना बढी उपभोक्ता आउने गरेको बताए । महोत्सवमा आउने उपभोक्ताको रोजाइमा ‘स्वादिलो खाजा घर’ पर्न सफल भएको भन्दै थापाले खुसी व्यक्त गरे । थापाले भने, ‘स्टलमा खाजा खाएपछि उपभोक्ताले यहाँ पाइएका परिकार स्वादिलो भएको भनेपछि खुसीको अनुभुति भएको छ ।’ उनले स्टलमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ देखि १३ वडासम्म व्यक्तिहरु खटिएको बताए । उनले स्टलमा छुट गर्न सिद्धार्थनगर नगरपालिकाले महोत्सवको आयोजक संस्थालाई पत्राचार गरेको बताए । आयोजक संस्थाबाट पनि सहयोग पाएको उनले बताए । आगामी दिनमा पनि आयोजना गरिने महोत्सव लगायतका कार्यक्रममा स्टल राख्ने सोच बनाएको थापाको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij