२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सियारीमा स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मान

बुधवार , मंसिर २०, २०८०

भैरहवा, २० मंसिर । 
‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको संयुक्त प्रयास’ भन्ने नारासहित रुपन्देहीको सियारी गाउँपालिकाले २० औं सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

गाउँपालिकाले सातैवटा वडामा रहेका स्वास्थ्य चौकीमार्फत दिवसको अवसरमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । वडा नम्बर २ स्थित मैनहिया स्वास्थ्य चौकी, वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र अमवा स्वास्थ्य चौकीको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थारुको प्रमुख आतिथ्यतामा सम्बन्धित वडाअध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

सो अवसरमा सहभागी गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाहरुका पदाधिकारीहरुले स्वास्थ्य सेवामा स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका उल्लेख्य रहेको बताएका थिए । 

वि.सं.२०४५/०४६ सालदेखि सुरु भइ २०५१/०५२ मा देशको सबै जिल्लामा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात भएको थियो । हाल देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । आधारभूत स्वास्थ्य सेवालाइ देशको स्थानीय समुदायमा रहेका जनताहरुसम्म स्वास्थ्य सूचना प्रवाहमा अहम भूमिका रहेको, विशेष गरी आमा र बालबालिकाहरुको स्वास्थ्य सुधारमा सक्रिय सहभागिता रहेको छ । उनीहरुले स्वास्थ्य सम्बन्धी विभिन्न अभियानहरुमा सहयोग समेत गर्दै आएका छन् । 

सियारी गाउँपालिका अन्तरगत ७० जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । खोप, पोषण, आमा सुरक्षा, सरुवा रोगहरुको नियन्त्रण, परिवार नियोजन सेवा, वालस्वास्थ्य सेवाहरुको जानाकारीको लागि स्थानिय महिला स्वास्थ्य स्वयंसेविकाहरुले काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । 

दिवसको अवसरमा आयोजित कार्यक्रममा सियारी गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसहित महिला स्वास्थ्य स्वयंसेविकाहरु सहभागीता रहेको थियो । 

प्रत्येक स्वास्थ्य संस्थाका १/१ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रसहित मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै ६० वर्ष उमेर पूरा गरेका वडा नम्बर ७ अमुवाकी कौशिल्या केवट र वटा नम्बर ६ को टीका ज्ञवालीलाई संघीय सरकारबाट प्रदान गरिने २० हजार र स्थानीय सियारी गाउँपालिकाबाट ५० हजार गरी ७० हजार दिएर दुई जना स्वास्थ्य स्वयंसेविकाहरुलाई बिदाई गरिएको छ । उनीहरुलाई नगदसहित सम्मान–पत्र, दोसल्ला र मायाको चिनोसहित विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए ।