
सोमवार , श्रावण १९, २०७७
भैरहवा, १९ साउन ।
चार महिनादेखि बन्द रहेका बुद्ध जन्मस्थल लुम्बिनीका होटल व्यवसाय सरकारको निर्णयपछि पनि खुलेका छैनन् । बन्दाबन्दीका कारण बन्द रहेका होटलहरु साउन १५ देखि सञ्चालन गर्न पाउने गरी सरकारले निर्णय गरेको थियो । तर पर्यटक नआएसम्म होटल खोल्नुको औचित्य नहुने भन्दै व्यवसायीले खोलेका छैनन् ।
लुम्बिनी आउने पर्यटकको मुख्य आकर्षण मायादेवी मन्दिर नै नखुलेपछि लुम्बिनीमा होटल खोल्नुको अर्थ नरहेको होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । “खुलेको भन्ने अनावश्यक चर्चा र औपचारिकता मात्र हो, केही तयारी पनि छैन, पाहुनाहरु आएका छैनन्, अहिले त्यो वातावरण पनि छैन”–उनले भने । होटल खुल्ने बित्तिकै त्यस अनुसार सुविधा दिनुपर्ने र कर्मचारीहरु पनि राख्नुपर्ने भएकाले खर्च बढ्ने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा त्यो सम्भव नरहेको बताए ।
लुम्बिनी क्षेत्रका ८५ वटा होटलमा पाँचहजार भन्दा बढी कामदार तथा कर्मचारी छन् । तीमध्ये ९० प्रतिशत कर्मचारी घर गएका छन् । सहज वातावरण नबनेसम्म कामदार नबोलाउने व्यवसायीले बताएका छन् । व्यवसाय बन्द गरेर आ–आफ्नो घर गएका अधिकांश होटल सञ्चालकहरु पनि अझै फर्किएका छैनन् । बन्दाबन्दीपछि ठप्प भएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । जिल्ला भित्र फाटफुट सार्वजनिक यातायात चले पनि यात्रुको संख्या निकै कम छ । अर्कोतर्फ स्थानीय आन्तरिक पर्यटकहरु लुम्बिनी पुगे पनि लुम्बिनी परिसर भित्र प्रवेश गर्न पाउँदैनन् ।
लुम्बिनी विकास कोषले लुम्बिनी नखोलेसम्म होटल खोल्न नसकिने होटल संघका अध्यक्ष श्रेष्ठले बताए । लुम्बिनी परिसर खुल्यो भने व्यवसायीलाई थोरै भए पनि राहत हुने उनले बताए । केही दिनअघि मायादेवी मन्दिर खोल्न भन्दै विभिन्न संघ–संस्थाले लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका थिए ।
लुम्बिनी होटल संघ नेपालसहित लुम्बिनी पर्यटन व्यवसायी संघ, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा समूह, सिद्धार्थ होटल संघ, लुम्बिनी बौद्ध महिला समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्ध लगायतका संघ–संस्थाले लुम्बिनी विकास कोषका उपाध्यक्षमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र पठाएका थिए । कोरोना भाइरस संक्रमणको जोखिम कम भए र हवाई उडान सुचारु भएपछि पनि लुम्बिनी पुरानौ अवस्थामा फर्किन निकै समय लाग्ने होटल संघका अध्यक्ष श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij