२०८३, कार्तिक १६ गते

Nov 02 2026 | २०८३, कार्तिक १६ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

सोमवार , कार्तिक १६, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, १६ कार्तिक । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । संघले सोमबार ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा पुगेर राहतस्वरूप खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष यादव पोख्रेलले वृद्धवृद्धाको संरक्षणमा जुटेको आश्रम परिवारलाई धन्यवाद दिँदै संघले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उहाँले संघ सामाजिक क्षेत्रमा नमूना संस्थाका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै रसुवाका बाढीप्रभावितलाई समेत सहयोग गरिएको जानकारी दिनुभयो । आश्रमको आवश्यकता बुझेर एक महिनासम्म पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले छरिएर रहेका मदिरा व्यवसायीलाई एकीकृत गरी भैरहवामा संस्था स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार संघले वृद्धाश्रम, बालगृह तथा मानवसेवा आश्रममा विभिन्न राहत सामग्री वितरण गर्दै आएको छ । संघले वार्षिक कार्यतालिकाअनुसार वर्षमा २५ वटा कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । मदिरा व्यवसायप्रति सरकार र समाजको दृष्टिकोणमा रहेको भिन्नतालाई चिर्न संघले प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।

    संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले वृद्धाश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो ।

    त्यस्तै सल्लाहकार खिमबहादुर खत्रीले स्थापनाकालदेखि नै संघले हरेक वर्ष स्थापना दिवसका अवसरमा सामाजिक कार्यक्रम गर्दै आएको बताउनुभयो । संस्थाले गरेका कामप्रति सल्लाहकारका रूपमा गर्व लागेको उहाँले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा आश्रमकी अध्यक्ष माया खरेलले आश्रमले अपेक्षा गरेभन्दा बढी खाद्यान्न सामग्री सहयोग प्राप्त भएको बताउनुभयो । जाडो मौसमलाई समेत मध्यनजर गरी सामग्री उपलब्ध गराएकोमा संघप्रति आभार व्यक्त गर्दै उहाँले यस्तै संघ–संस्थाको सहयोगबाट आश्रम सञ्चालन भइरहेको बताउनुभयो । आश्रममा हाल १४ जना वृद्धवृद्धा रहेको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रम संयोजक गंगाराम पराजुलीको स्वागत तथा महासचिव सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    वि.सं. २०७७ साल कार्तिक १६ गते स्थापना भएको मदिरा व्यवसायी संघ भैरहवाले स्थापनाकालदेखि नै हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताउनुभयो ।