
बिहिवार , मंसिर २१, २०८०
भैरहवा, २१ मंसिर । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको सरुवा भएको छ। गत कात्तिक २१ गते घरायशी कारण देखाउँदै बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत भुसालको मंसिर २० मा गृह मन्त्रालयमा सरुवा भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्रमार्फत बुटवल उपमहानगरपालिकालाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापनबारे जानकारी गराएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भुसाललाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरिएको जानकारी दिएको छ। उनी आफ्नो इच्छाले सामान्य प्रशासन मन्त्रालयको अनुमतिमा बिदामा बसेका थिए ।
नगर प्रमुख खेलराज पाण्डेय भन्छन् -यति धेरै समय प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा नगरको काममा प्रभाव परेको थियो, उनको गृह मन्त्रालयमा सरुवा भयो भन्ने पत्र आएको छ। उनले भुसालको सरुवा भएपछि अर्को प्रमुख प्रशासकीय अधिकृत आउनका लागि खुला भएको र छिटै नै प्रमुख प्रशासकीय अधिकृत आउनेमा आफु विश्वस्त रहेको बताए।
उनीसँग हाम्रो कुनै दुखेसो थिएन, उनलाई गैरकानुनी र अनियमित काम गर्नुस् भन्ने सवाल नै रहँदैन, उनले भने-जनप्रतिनिधिले नीति कार्यक्रम ल्याउने र त्यसको कार्यान्वयनका लागि कर्मचारीले नियमसंगत काम गर्ने हो, कसैलाई पनि अनुचित र गैरकानुनी काम गर्नुस् भन्ने कुरा हुँदैन, कसैले गलत प्रचार गर्ने नियतले अनावश्यक कुराको प्रचार गर्छ भने त्यसमा हाम्रो टिप्पणी रहँदैन। उनले वार्षिक बजेट र नीति कार्यक्रमअनुसार कर्मचारीले काम गर्नुपर्ने र तय गरिएको लक्ष्य हासिल गर्नका लागि प्रतिबद्ध हुनुपर्ने बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij