२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

सैनामैना–६ कलौनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

मंगलवार , मंसिर २६, २०८०

भैरहवा, २६ मंसिर ।
रुपन्देहीको सैनामैना नगरपालिका–६ मा अस्थायी प्रहरी पोष्ट रामापुर कलौनी स्थापना गरिएको छ । प्रहरी पोष्टको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले उद्घाटन गरेका छन् ।

स्थानीय जनताको माग र आवश्यकता बमोजिम करिब २ वर्षदेखि यस स्थानमा सुरक्षा युनिटको आवश्यकता महसुस गरी अस्थायी प्रहरी पोष्ट रामापुर कलौनी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए । नेपाल प्रहरीको नियमित बजेट ५ लाख ५० हजार, लुम्बिनी प्रदेश सरकारको ५ लाख तथा स्थानीय जनसमुदायको सहयोगबाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रशासन शाखा २०८० असार २६ गतेको निर्णय अनुसार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको एसपी वि.क.ले जानकारी दिए । आजको समयमा स्थानीय समुदायको सहयोग र सहकार्य अपरिहार्य छ । उनले भने, ‘जनतासँग हातेमालो गर्दै स्थानीय सुरक्षा संवेदनशीलतालाई मनन र विश्लेषण गर्दै शान्ति सुरक्षा प्रदान गर्नुपर्दछ । ’
यस क्षेत्रमा हुन सक्ने सवारी दुर्घटना, चोरी तस्करी नियन्त्रण, विपद्का घटना न्यूनीकरण, विभिन्न किसिमका सामाजिक अपराध न्यूनीकरण गर्न यो चौकीले महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको उनको भनाइ छ ।

प्रहरी पोष्टको उद्घाटन पश्चात बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले अब प्रहरीलाई आफ्नै भवनमा बस्ने अवस्था भएको बताए । उनले आफ्नै घरमा बसेर काम गर्दा प्रहरीलाई गर्वको अनुभुति हुने बताए । उनले प्रहरी पोष्ट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘सुरक्षा बिना विकास हुँदैन । विकास भन्दा पहिला सुरक्षा आवश्यक छ । अब प्रहरी चौकी स्थापना भएसँगै बैंक तथा वित्तीय संस्था यहाँ आउँछन्, एसईई परीक्षाका केन्द्रहरु नजिकै राख्न सकिन्छ । ’ डीआईजी जोशीले प्रहरीसँग सूचना लिने मात्र नभइ सूचना दिन पनि आग्रह गरे । उनले समाजको सहयोग बिना प्रहरी अघि बढ्न नसक्ने बताए । 

kaloni.jpg

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सबैको सहमति, एकता र बलले नै अस्थायी प्रहरी पोष्ट उद्घाटन भएको बताए । उनले प्रहरी पोष्ट स्थापनाले शान्ति सुरक्षा प्रदान हुने विश्वस्त भएको बताए । नगरप्रमुख शमाले सबैको घरघरमा राज्यले पनि प्रहरी राख्न नसक्ने भएकाले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी पोष्टको स्थापना भएको बताए । उनले भने, ‘सडक दुर्घटना कम हुनेछ, घटना कम हुनेछन् भन्ने विश्वास लिएका छौं । यो सबैको सहकार्यले प्रहरीलाई मजबुत गराउने र समाजमा भएका नकारात्मक कुरालाई रोक्ने तथा समाजलाई राम्रो बनाउने कार्यमा सहकार्य गरेर अगाडि बढाउनका लागि सबैको महत्वपूर्ण भूमिका छ ।’

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले प्रहरी पोष्ट स्थापनाका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट आवश्यक सहयोग गर्ने बताए । उनले भने, अस्थायी प्रहरी पोष्टले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्र बहादुर कार्कीले विगतमा यस क्षेत्रमा चौकीको आवश्यकता रहेको जोडदार रुपमा पटकपटक माग गरिएको बताए । उनले प्रहरीको उपस्थिति भनेको राज्यको उपस्थिति भएको बताए । उनले प्रहरीले जनताको मनोभावना बुझेर सहकार्य गर्नुपर्ने र जनताले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चौकी स्थापनाले यस क्षेत्रका बासिन्दा खुसी हुनुभएको बताए । उनले सैनामैना लामो वस्ती भएको क्षेत्र भएको र पछिल्लो समय सैनामैना नगरपालिकामा जनघनत्व बढ्दै गएको बताए ।

दुक्षराध युवा क्लब सैनामैना–६, रुपन्देहीका सल्लाहकार प्रेम थापाले अस्थायी प्रहरी पोष्ट स्थापनासँगै यहाँका नागरिकले आफूलाई सुरक्षित महसुस गरेको बताए ।

kaluni.jpg

ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डितको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।