२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भैरहवामा एमालेका नेता पूर्वराजाको अभिनन्दन समिति संयोजक

आइतवार , पौष १, २०८०

भैरहवा, १ पुस । 
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा नगरप्रमुख (मेयर) को उम्मेदवार बनेका डा. रामप्रसाद बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन् । 

पूर्वराजा शाहलाई पुस दोस्रो साता भैरहवामा अभिनन्दन गर्न बनाइएको मूल समिति संयोजकको जिम्मेवारी बस्यालले लिएका छन् । बस्याल एमालेका पूर्व लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार हुन् । निर्वाचनमा एमालेबाट मेयर उम्मेदवार भए पनि उनी नेपाली कांग्रेसका इश्तियाक अहमद खानसँग पराजित भएका थिए । 

बस्याललाई एमालेले मेयरको उम्मेदवार बनाएपछि भैरहवा क्षेत्रका केही एमाले नेताहरु असन्तुष्ट बनेका थिए । बस्याल उम्मेदवार बनेपछि सबैभन्दा बढी एमाले सिद्धार्थनगरका तत्कालीन नगर सचिव नारायण प्रसाद भण्डारी असन्तुष्ट बनेका थिए । 

आफूले मेयरको टिकट पाउनेमा ढुक्क जस्तै बसेका भण्डारी बस्यालले मेयर पदको उम्मेदवारका लागि टिकट लिएर आएपछि असन्तुष्ट बनेका थिए । भण्डारीले एमाले परित्याग गरिसकेका छन् ।

एमाले रूपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टी नीति र विधान बाहिर रहेर यस्तो गतिविधिमा संलग्न हुने छुट कसैलाई नभएको बताए । ‘मैले पनि बाहिरबाट सुनेको छु, यो विषयमा धेरैपटक उहाँलाई बोलाएँ, भोलिलाई समय दिनुभएको छ, एमालेमा बसेर यस्तो गतिविधि गर्ने छुट कसैलाई छैन’, केसीले भने ।

डा. बस्यालले आफूले एमाले छाडिनसकेको तर केही विषयमा पार्टीसँग असहमत रहेको बताए । ‘धर्मनिरपेक्षता र प्रदेशसहितको संघीयताप्रति जनता सहमत छैनन्, विरोधमा छन्’, बस्यालले भने, ‘यी दुई एजेण्डामा म पनि पार्टीसँग सहमत थिइन, देश बचाउन पूर्वराजाले गर्ने राम्रा काममा मेरो समर्थन रहन्छ ।’