२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

गैडहवामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे छलफल

सोमवार , पौष २, २०८०

भैरहवा, २ पुस ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबीच संयुक्त छलफल गरिएको हो । 

सोमबार भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए । ‘हामीले पालिकाभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुँदैन । उनले भने, ‘अहिले हामीसँग उपलब्ध श्रोतसाधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवा प्रवाह गरौं ।’

उनले मातृ स्वास्थ्य र शिशु वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले हरेक बिरामीलाई स्वास्थ्यकर्मीले हासिलो मुहारले सेवा दिनुपर्नेमा जोड दिए ।

WhatsApp Image 2023-12-18 at 6.48.49 PM.jpeg

त्यस्तै गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले गैडहवामा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउन र त्यसैअनुसार जनशक्ति परिचालन गर्न जोड दिइने बताइन् । उनले उपलब्ध स्रोतसाधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिंदै आगामी दिनमा स्वास्थ्य केन्द्रहरुको स्तरवृद्धि हुने बताइन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताए । 

गैडहवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको बताए । उनले शुद्ध पानी पिउनु, ताजा खानेकुरा खानु, दैनिक व्यायाम गर्नु मानिसका लागि अत्यावश्यक रहेको बताए । उनले गैडहवाको स्वास्थ्यको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए । उनले स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा वडामा रहेका स्वास्थ्य चौकी र गाउँपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरे ।

सेतो गुराँस समूह रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले कार्यक्रम सेतो गुराँसले सधै पालिकासँग समन्वय गरेर काम गर्ने बताउँदै शिक्षा र स्वास्थ्यमा सधै सेतो गुराँसले काम गर्दै आएको बताइन् ।  

कार्यक्रममा वडा अध्यक्षहरु प्रदिप कुमार चौधरी, रामअजोर यादव, सुरेन्द्र कुर्मी, भुवन राना, मिना क्षेत्री, छत्रपुरा आधारभूत स्वास्थ्य केन्द्रका रामबहादुर परियार, सेतो गुराँस रुपन्देही संयोजक मिनु पुन श्रेष्ठलगायतले स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने विभिन्न कामबारे सुझाव राखेका थिए ।

कार्यक्रममा गैडहवा गाउँपालिका वडा नम्बर १ देखि ९ वडा सम्मका स्वास्थ्य चौकीका प्रमुखहरु सहभागी थिए । कार्यक्रममा हेलन केलर इन्टरनेशनल परियोजनाका प्रदेश प्रमुख भरत शर्माले प्रशिक्षण दिएका थिए भने तथ्यांक व्यवस्थापक अधिकृत जितेन्द्र कोहार, समुदाय परिचालक मुना कुँवर र अनु श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

गाउँपालिकाको स्वास्थ्य शाखा सिनियर अनमी निरीक्षक सीता गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।